काठमाण्डौ । सोमबार विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ ।
क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रूपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । तीन हप्ता वा त्योभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ ।
त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२३ मा नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो ।
त्यसैगरी क्षयरोगका कारण १६ हजारको ज्यान गएको अनुमान छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो । यही अवधिमा राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार सात सय ७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए ।
उपचारका लागि दर्ता भएकामध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । नेपालमा क्षयरोगको निःशुल्क उपचारको व्यवस्था छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध प्रयोग गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा नखाएमा रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनुपर्ने छाती तथा फोक्सो रोगका वरिष्ठ विशेषज्ञ डा। अच्युतभक्त आचार्यको सुझाव छ ।
नियमित औषधी खाएमा क्षयरोग निको हुन्छ । उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन ।
