भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र

ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र

काठमाडौं, २५ साउन । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ। सरकारले ग्यासको आपूर्ति बढाउन भारतीय आयल कर्पोरेसनसँग थप कोटा माग गर्नुका साथै बजारमा हुने कालोबजारी र कृत्रिम अभाव नियन्त्रणका लागि अनुगमन तीव्र पारेको छ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ। यसअघि मासिक करिब ४९ हजार ५ सय मेट्रिक टन ग्यास माग गर्दै आएकोमा बढीमा ४५ हजार मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा ग्यासको अभाव बढेपछि निगमले मासिक करिब ५५ हजार मेट्रिक टन ग्यास माग गरेको छ। आपूर्ति बढेपछि बजारमा देखिएको अभाव कम हुने अपेक्षा गरिएको छ।

यसैबीच सरकारले ग्यासको अभावको मौका छोपेर हुने कालोबजारी, कृत्रिम अभाव र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधिमाथि निगरानी बढाएको छ। गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीलाई तत्काल कारबाही गर्ने सरकारले चेतावनी दिएको छ।

ग्यास अभावको मौका छोपेर कालोबजारी गरेको आरोपमा देशका विभिन्न जिल्लामा कारबाहीसमेत सुरु भएको छ। बाँकेको नेपालगञ्जमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगञ्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको हो।

त्यस्तै, भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सङ्खुवासभाको खाँदबारीमा पनि तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्।रसुवाको धुन्चे बजारमा ग्यास लुकाएर बढी मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन थालेका छन्।

यस्तै, बागलुङमा सडकबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलरमार्फत मात्रै वितरण गर्ने निर्णय गरिएको छ।यसैबीच पर्याप्त ग्यास आयात भइरहेको दाबी गर्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको हो।

सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ। साथै अभावको नाममा हुने कालोबजारी, ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि सरकारले अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.