भर्खरै : Sorry, your browser does not support inline SVG.

पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं, २५ साउन । चीनको पूर्वी क्षेत्रमा शक्तिशाली ‘डल्फिन’ आँधी प्रवेश गरेपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण राजधानी साङ्घाईसहित विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।

चिनियाँ मौसम विभागका अनुसार ‘डल्फिन’ आँधी आइतबार साँझ झेजियाङ प्रान्तको युहुआन क्षेत्रमा पहिलोपटक जमिनमा प्रवेश गरेको थियो। त्यसबेला आँधीको अधिकतम गति करिब १५० किलोमिटर प्रतिघण्टा पुगेको थियो। पहिलोपटक जमिनमा प्रवेश गरेको करिब एक घण्टापछि आँधीले वेन्झोउ सहरमा दोस्रोपटक जमिन छोएको थियो। तीव्र हावाहुरी र भारी वर्षाका कारण पूर्वी चीनका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।

आँधीका कारण साङ्घाईमा मात्रै करिब १ हजार ४ सय उडान रद्द गरिएको छ। उडान रद्द भएपछि ठूलो संख्यामा यात्रु प्रभावित भएका छन्। चिनियाँ अधिकारीहरूले ‘डल्फिन’ आँधीलाई लिएर यसअघि उच्चतम तहको ‘रेड अलर्ट’ जारी गरेका थिए। तर, सोमबार बिहान आँधीको तीव्रता केही कमजोर भएपछि चेतावनीको स्तर घटाइएको छ।

मौसम विभागका अनुसार आँधी अहिले चीनको भित्री भूभागतर्फ अघि बढिरहेको छ। यद्यपि यसको प्रभावका कारण बुधबारसम्म विभिन्न क्षेत्रमा मुसलधारे वर्षा, बाढी र पहिरोको जोखिम कायमै रहने अनुमान गरिएको छ। शानडोङ, हेनान, हुबेई, आन्हुई, जिआङ्सु र झेजियाङ प्रान्तका साथै साङ्घाईमा सोमबार पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत व्यवस्थापनका लागि स्थानीय निकायहरूलाई सतर्क अवस्थामा राखिएको छ।

 


Thali Mobile Pvt.Ltd.