भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी मनाइने

सुदूरपश्चिममा गौरा पर्व शुरु, आज बिरुडा पञ्चमी मनाइने

काठमाडौं । सुदूरपश्चिमको मौलिक पर्व गौरा विधिवत् शुरु भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरु हुने पर्वको पहिलो दिन शनिबार घर(घरमा बिरुडा राखेर मनाइँदै छ। यो दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको शुरुवात गर्ने चलन छ।

तामाको भाँडोलाई गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ।

पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा शुरु हुने जानकार गोमती भट्टले बताइन्। ‘एक महिना अघिदेखि नै शुद्ध साकाहार र बह्मचार्यको पालना गरी बिरुडा पञ्चमीका दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाडामा भिजाउने गरिन्छ’ उनले भनिन्, ‘बिरुडा भिजाउँदा मांगलकि सगुन फाग गाउँछौँ।’ बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने वेलाको फाग गाउने चलन छ।

फागमा सबै नारीहरु गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजीदिन महादेव (स्थानीय भाषामा मयासर भनिने) लाई नगरमा गएर मागिल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने पण्डित कविराज भट्टले बताए।

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ। सप्तमीका दिन धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याउन परम्परा रहेको सरस्वती अवस्थीले बताउए। ‘गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ’, उनले भने, ‘गौरामा व्रत बसी पूजाअर्चना गर्दा परिवारका सुख(समृद्धि आउने विश्वास छ।’

अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मंगलगानका साथमा गौरा नचाइन्छ। त्यसैक्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ। जहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ। आजकै दिनदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिीनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गरिँदै आइएको छ। शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो। यो पर्व अगस्ती ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्ने गर्दछ। शुक्ल पक्षमा परेको गौरालाई ‘उज्याली गौरा’ भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई ‘अन्यारी गौरा’ भनिन्छ। यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेरिन्छ। रासस

 


Thali Mobile Pvt.Ltd.