Gaura Parva
बैतडी, १५ भाद्र । सुदूरपश्चिम प्रदेशमा आज गौरापर्वको मुख्य दिन मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरा देवीलाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखलामा लगेर पूजा गर्ने परम्परा रहेको छ ।
व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर, पाँच प्रकारको अन्न (बिरुडा)ले गौरा देवीको पूजा गर्ने गर्छन् । शनिबार गौरा देवीमा चढाइएको दुबधागो (मन्त्रिएको धागो) पनि आज महिलाले धारण गर्ने गर्दछन् । पुरुषहरूले जनै धारण गरेजस्तै महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने चलन छ ।
गौराघरबाट गौरा देवीलाई सिङ्गारेर गौराखलामा लगिने र त्यहाँ सामूहिक रूपमा अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । व्रतालु महिलाले गौरा देवीको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग फागमार्फत बताउने गर्दछन् । पूजा सम्पन्न भएपछि मुख्य प्रसादका रूपमा बिरुडाले परिवारका सदस्यहरूको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै टाउको पुज्ने परम्परा छ । पुरुषहरूले परम्परागत खेलहरू जस्तै ठाडोखेल, ढुस्को धमारी खेल्ने गर्दछन् ।
संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार, महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख – शान्तिका लागि व्रत बस्ने मान्यता रहेको छ । सुदूरपश्चिमेलीहरूले दसैंभन्दा बढी महत्वका साथ गौरापर्व मनाउने गरेका छन् । विवाहित चेलीहरू पनि माइत आउने चलन छ ।
यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशमा भदौ १५–१६ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ । सरकारले आइतबार भदौ १५ र प्रदेश सरकारले सोमबार भदौ १६ गते बिदा घोषणा गरेको हो ।
यसैका अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन् । उनले यो पर्व समाजिक एकता, मेलमिलाप र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् ।
देउवाका अनुसार, गौरापर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्छ र भावी पुस्तालाई यसको महत्व बुझ्न उत्प्रेरित गर्दछ। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले पनि पर्वको अवसरमा सामाजिक सद्भाव अभिवृद्धि गर्न सकून् भन्ने शुभकामना उनले दिएका छन् ।

