काठमाडौं । चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ । कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई रु ३८ अर्ब ३८ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ । गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो ।
चालु आवको पहिलो त्रयमासमा चालु खाता एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो । औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ ।
गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१,०८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।