भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

घ्याम्पेडाँडा–रानीकोट सडकमा निरन्तर पहिरो, स्थानीय आफैं जुटे बाटो खोल्न

घ्याम्पेडाँडा–रानीकोट सडकमा निरन्तर पहिरो, स्थानीय आफैं जुटे बाटो खोल्न

भक्तपुर, १२ भाद्र । घ्याम्पेडाँडा–रानीकोट हुँदै काभ्रेको पनौती जाने सडक फेरि पहिरोले थुनिएको छ । वर्षायाम सुरु भएदेखि नै यो सडक दैनिकजसो अवरुद्ध हुँदा स्थानीयबासी, किसान र पर्यटक सबै समस्यामा परिरहेका छन् ।

रानीकोटलाई राजधानी नजिकैको उदीयमान पर्यटकीय गन्तव्य मानिन्छ । यसैगरी यो बाटो भक्तपुर हुँदै पनौती जाने सबैभन्दा छोटो र सहज मार्ग पनि हो । तर, बारम्बारको पहिरो र अव्यवस्थित खानेपानी पाइपका कारण सडक प्रायः बिग्रँदै जाने गरेको छ ।

तरकारी, दूध, अन्नपात बजार पुर्‍याउन किसानलाई धौ–धौ परेको छ । मोटरसाइकल र साना गाडीसमेत पहिरो काटेर जान नसक्ने अवस्था हुँदा यात्रुहरू बीचमै रोकिएका छन् । स्थानीय मन नारायण श्रेष्ठ भन्छन्, “यो सडकमा नाला नहुँदा थोरै पानी परे पनि ठूलो क्षति हुन्छ । सरकारले बजेट छुट्याएको सुनेका छौं तर काम अघि बढेको छैन ।”

पर्यटन व्यवसायी रामसुन्दर बके त आफ्नै खर्चमा पटक–पटक डोजर लगाएर पहिरो पन्छाउँदै आएका छन् । उनी भन्छन्, “खानेपानीको पाइप फुटेर बाटो थप कमजोर भएको छ । कुनै पनि बेला ठूला दुर्घटनाको खतरा बढिरहेको छ ।”

यस सडकमार्गमा दैनिकजसो राजधानी, पनौती र आसपासका क्षेत्रमा आवतजावत गर्ने सयौं यात्रु छन् । तर, बाटो बन्द हुँदा उनीहरूको रोजगारीदेखि व्यापारसम्म प्रभावित भइरहेको छ ।

स्थानीय सडक उपभोक्ता समितिले तत्काल र दीर्घकालीन समाधानका लागि तीनै तहका सरकारलाई पहल गर्न आग्रह गरेको छ । करिब दुई किलोमिटर सडकलाई स्तरोन्नति गरी नाला व्यवस्थापन गर्न सके समस्या न्यून हुने उनीहरूको धारणा छ ।

अहिलेसम्म सडक खुलाउन तत्काल राहतस्वरूप स्थानीयबासी, किसान र उपभोक्ताहरू स्वयं दर्जनौंको संख्यामा जुटेर पहिरो पन्छाउने काममा सक्रिय रहेका छन् । उनीहरू भन्छन् “सरकार बेपर्वाह रह्यो भने हरेक वर्ष हामीले आफ्नै बलबुतामा पहिरो हटाउँदै बस्नुपर्ने हुन्छ ।”

 


Thali Mobile Pvt.Ltd.