GolrizGhahraman - 2
काठमाडौं । चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी एक सांसदले राजीनामा दिएकी छन् । प्रहरीले घटनाहरुको अनुसन्धान गरिरहेका बेला उनले पदबाट राजीनामा दिएकी हुन । ग्रीन पार्टीका ४२ वर्षीया गोलरिज गहरामानले दुई कपडा पसलबाट तीन पटक चोरी गरेको आरोप छ ।
यीमध्ये एउटा चोरी अकल्यान्डमा र बाँकी वेलिंग्टनको पसलमा भएको हो । कामको तनावका कारण आफूले चरित्र विपरीत व्यवहार गरिरहेको गहरामनले बताएकी छन् ।
उनले भनिन्, ‘मैले धेरै मानिसहरूलाई अपमानित गरेको छु र म माफी चाहन्छु।’ संयुक्त राष्ट्रसंघमा मानवअधिकार वकिल भइसकेकी गोलरिजले सन् २०१७ मा इतिहास रचेका थिइन् । उनी न्यूजिल्याण्ड सरकारमा सपथ लिने पहिलो शरणार्थी थिइन् । उनी बाल्यकालमा परिवारसहित इरानबाट भागेकी थिइन् ।
त्यसपछि उनलाई र उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो । गहरामनले मंगलबार अकल्याण्डको बुटिकबाट डिजाइनर झोला उठाएको सीसीटीभी फुटेज बाहिरिएपछि उनको राजीनामा आएको हो ।
