भर्खरै : Sorry, your browser does not support inline SVG.

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं, ६ साउन  । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। आज राति पनि देशभर मनसुनी प्रभाव कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु तथा स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.