कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा

कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा

मुख्य बुँदा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको कर्णाली भ्रमण सम्पन्न।

सुर्खेतदेखि हुम्लासम्म विकास आयोजनाको स्थलगत अनुगमन।

कर्णाली राजमार्ग दुई लेनमा विस्तार गर्ने लक्ष्य।

सबै जिल्ला सदरमुकाम र स्थानीय तहलाई गुणस्तरीय सडक सञ्जालमा जोड्ने प्रतिबद्धता।

सांसद रमेश सापकोटाले कर्णाली विकासमा निरन्तर लागिरहने बताए।

काठमाडौं, ५ साउन । सांसद रमेश सापकोटाले कर्णाली प्रदेशको समग्र विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँगको कर्णाली भ्रमण सम्पन्न भएपछि उनले विकासका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले कर्णालीको विकासलाई पहिलो प्राथमिकतामा राखेकाे भन्दै उनले मन्त्रीप्रति धन्यवाद व्यक्त समेत गरेका छन् । 

कर्णालीका नागरिकको आवाज, आवश्यकता र विकासका एजेन्डालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याई कार्यान्वयन गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको सापकाेटाले बताएका छन्।

उनका अनुसार भ्रमणका क्रममा सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्लाका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिक, जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग प्रत्यक्ष संवाद गरिएको थियो। साथै, विकास आयोजनाहरूको स्थलगत अनुगमन, जनअपेक्षा तथा समस्याको पहिचान र समाधानका उपायबारे समेत छलफल गरिएको उनले जानकारी दिएका छन्।

सांसद सापकोटाले अब कर्णाली राजमार्गलाई दुई लेनमा विस्तार गर्ने, सबै जिल्ला सदरमुकाम तथा स्थानीय तहका केन्द्रलाई गुणस्तरीय सडक सञ्जालसँग जोड्ने र कर्णालीको समग्र पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने लक्ष्य रहेको उल्लेख गरेका छन्।

उनले सरकार, स्थानीय तह र नागरिकबीचको सहकार्यबाट समृद्ध, सुगम र समुन्नत कर्णाली निर्माण गर्ने अभियानलाई सफल बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

 


Thali Mobile Pvt.Ltd.