काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी प्रथाका विषयमा अध्ययन गर्नका लागि समिति बनाउने निर्णय भएको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले सोमबार नै छाउपडी प्रथाको विद्यमान अवस्थाको अध्ययन गरी प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।
गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको नियन्त्रण र अन्त्य गर्नका लागि समिति बनाइएको भन्दै समितिको प्रतिवेदनमा टेकेर आवश्यक नीतिगत कदम चालिने धारणा राखे । त्यस्तै उनले अछाममा असार ४ गते १३ वर्षकी बालिका छाउ गोठमा बलात्कृत भएको घटनाको अनुसन्धान भइरहेको र एक जनालाई पक्राउ गरिएको बताए । उनले पीडित बालिकाको उपचार भइरहेको पनि जानकारी दिए ।
