भक्तपुर नगरपालिकाद्धारा २ अर्ब २६ करोड ८५ लाख बराबरको बजेट निर्माण

भक्तपुर नगरपालिकाद्धारा २ अर्ब २६ करोड ८५ लाख बराबरको बजेट निर्माण

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१।०८२ का लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको अनुमानित बजेट निर्माण गरेको छ। आज नगरसभाको १६औं अधिवेशनको दोस्रो बैठकमा सो बजेट ल्याइएको हो । नगर उपप्रमुख रजनी जोशीद्वारा प्रस्तुत बजेटमा नगरपालिकाको आन्तरिक आयतर्फ ६० करोड आम्दानी हुने अपेक्षा गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा ४४ करोड ६८ लाख ६७ हजार ९३० रुपैयाँ आम्दानी रहेको छ जुन अनुमानित आम्दानीको ७४.४८ प्रतिशत हो ।

पूँजीगत खर्चतर्फ रु ८० करोड ४१ लाख विनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा २७ करोड ८४ लाख १० हजार रुपैयाँ अर्थात् ३४.६२ प्रतिशत यथार्थ खर्च छ भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ३९ करोड ९५ लाख ३६ हजार हुने संशोधित अनुमान गरिएको छ । वित्तिय तर्फरु ९ करोड ५० लाख विनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्ममा २ करोड ३५ लाख रुपैयाँ अर्थात् २४.७४ प्रतिशत खर्च भयो भने असार मसान्तसम्ममा उक्त खर्च बढेर ९ करोड ३५ लाख हुने संशोधित अनुमान गरिएको उपप्रमुख जोशीले बताइन् ।

चालु आ.व. २०८०।८१ मा चालु तर्फ रु १ अर्ब ३६ करोड ९४ लाख ९४ हजार बिनियोजन गरिएकोमा २०८१ जेठ मसान्तसम्मको कूल चालु खर्च ९८ करोड २६ लाख ४१ हजार अर्थात ७१.७५ प्रतिशत छ । असार मसान्तसम्ममा चालु खर्च बढेर १ अर्ब ०९ करोड ८१ लाख ९३ हजार खर्च हुने संशोधित अनुमान गरिएको छ ।

सम्पति (घरजग्गा मूल्याङ्कन) तथा भूमि कर, व्यवसाय कर, पर्यटन सेवा शुल्क, जग्गा विक्री, नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल विक्रीलगायत यस नगरपालिकाको आन्तरिक आयको श्रोतका रुपमा लिँदा आ.व. २०८१÷८२ को लागि कुल ६५ करोड ८३ लाख १० हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ । आन्तरिक आय अनुमान गर्ने क्रममा करका दायरामा नआएका व्यवसायका शीर्षकलाई दायरामा ल्याउने र आवश्यक केहि करको दरमा सामान्य बृद्धि गर्ने प्रस्ताव गरी भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०८१ मा समावेश गरिएको छ ।
नगरपालिकाद्वारा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र तथा जनस्वास्थ्य केन्द्रहरुमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ । भनपा वडा नं. १० स्थित बेखाल स्वास्थ्य सेवा केन्द्र र भनपा वडा नं. ७ स्थित खँचा पोखरी स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी संचालनमा ल्याउन रु. १ करोड ५० लाख रकम विनियोजन गरिएको छ भने यसका साथै १३ वर्ष मुनिका बालिकाहरूलाई पाठेघर क्यान्सरविरुद्धको खोप वितरण गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख जोशीले जानकारी दिइन् ।

 


Thali Mobile Pvt.Ltd.