काठमाडौँ, ११ भदाै । तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु भएको पुष्टि भएको छ ।
ललितपुरको ग्वार्कोमा बस्दै आएका ३६ वर्षीय प्रजापतिको शव धादिङस्थित त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिएका छन् । प्रजापतिको शव फेला परेपछि उनका आफन्तले सनाखत गरेका छन् ।
यसैबीच, रसुवा र नुवाकोटतर्फबाट बाढीले बगाएर ल्याएका २१ वटा शव धादिङमा फेला परेको प्रहरीले जनाएको छ । फेला परेका शवमध्ये ११ पुरुष, ९ महिला र एक बालिकाको रहेको डीएसपी दाहालले बताए ।
धादिङ प्रहरीले बैरेनी र गल्छी क्षेत्रमा फेला परेका ६ वटा शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । अन्य शवहरू प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जनाइएको छ । त्यस्तै, धादिङका विभिन्न स्थानबाट ७ वटा मानव शरीरका अंगसमेत संकलन गरिएको प्रहरीले जनाएको छ ।
त्रिशूली नदीमा आएको भीषण बाढीपछि नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी जारी छ । बाढीले बगाएर ल्याएका शव तथा मानव अंगहरू विभिन्न स्थानमा भेटिने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ ।
