काठमाडौँ, ११ भदाै । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ ।
दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढीमा परी फेला परेका शवहरू आठ जिल्लामा भेटिएका छन् । उपलब्ध तथ्यांकअनुसार चितवनमा १२१ जनाको शव फेला परेको छ । त्यस्तै पूर्वी नवलपरासीमा ६५, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, पश्चिम नवलपरासीमा १४, नुवाकोटमा १२ र रसुवामा ३ जनाको शव भेटिएको छ ।
बाढीले त्रिशूली तथा नारायणी नदी आसपासका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएपछि बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र पारिएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नदी किनार, बगर तथा प्रभावित क्षेत्रमा खोजी गरिरहेको छ । बाढीको बहाव र ठूलो मात्रामा थुप्रिएको गेग्रानका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।
सुरक्षा निकायले प्रभावित क्षेत्रमा सम्भावित स्थानहरूमा खोजीलाई निरन्तरता दिइरहेको छ । बेपत्ता व्यक्तिको संख्या तथा क्षतिको पूर्ण विवरण खोजी कार्यपछि थप स्पष्ट हुने जनाइएको छ ।
