भर्खरै : Sorry, your browser does not support inline SVG.
चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान | भोटेकोशी बाढीपछि रसुवा जाने वैकल्पिक सडकमा जोखिमपूर्ण यात्रा, यात्रु र राहतका सवारीलाई सास्ती | भोटेकोशी बाढीको छैटौँ दिन पनि १० हजार ३४१ जना बेपत्ता, ७८१ शव फेला |

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार प्रयास जारी रहेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा रातभर पनि प्रयास गरिएको छ । बाढी र पहिरोका कारण आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कविच्छेद भएपछि सेनाको हेलिकप्टरमार्फत स्काभेटर तथा प्राविधिक टोली घटनास्थलमा पुर्‍याइएको छ ।

त्यहाँ अवरुद्ध सडक खुलाउने तथा क्षेत्र सफा गर्ने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार सुरुङमा प्रवेश गर्न सक्ने अवस्था बनाउन करिब ३० देखि ४० मिटर चौडाइमा जमेको माटो र गेग्रान हटाउनुपर्ने अवस्था रहेको छ ।

तीनवटा स्काभेटरमार्फत निरन्तर काम भइरहे पनि सुरुङको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ । उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे निरीक्षण गर्दै फसेका व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको छ ।

यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजनास्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको निरीक्षण गरी उद्धार कार्य अघि बढाइरहेको सरकारले जनाएको छ ।

यसैगरी लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा पनि खोजी कार्य जारी छ । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन रहेका ९३ जनाको समेत खोजी भइरहेको छ ।

हालसम्म कुन आयोजनाको सुरुङमा कति जना फसेका छन् भन्ने यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन् । तीमध्ये पाँच सयभन्दा बढी व्यक्ति सुरुङभित्र फसेको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.