भर्खरै : Sorry, your browser does not support inline SVG.

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान

काठमाडौं, १५ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार प्रयास जारी रहेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा रातभर पनि प्रयास गरिएको छ । बाढी र पहिरोका कारण आयोजनास्थलसम्म पुग्ने सडक सम्पर्कविच्छेद भएपछि सेनाको हेलिकप्टरमार्फत स्काभेटर तथा प्राविधिक टोली घटनास्थलमा पुर्‍याइएको छ ।

त्यहाँ अवरुद्ध सडक खुलाउने तथा क्षेत्र सफा गर्ने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार सुरुङमा प्रवेश गर्न सक्ने अवस्था बनाउन करिब ३० देखि ४० मिटर चौडाइमा जमेको माटो र गेग्रान हटाउनुपर्ने अवस्था रहेको छ ।

तीनवटा स्काभेटरमार्फत निरन्तर काम भइरहे पनि सुरुङको मुख्य भागसम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएको छ । उद्धार टोलीले सुरुङभित्रको अवस्थाबारे निरीक्षण गर्दै फसेका व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको छ ।

यस्तै, त्रिशूली–३ बी जलविद्युत् आयोजनास्थलमा पनि नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहितको टोलीले घटनास्थलको भौगोलिक तथा प्राविधिक अवस्थाको निरीक्षण गरी उद्धार कार्य अघि बढाइरहेको सरकारले जनाएको छ ।

यसैगरी लाङटाङ र चिलिमे जलविद्युत् आयोजनाका सुरुङमा पनि खोजी कार्य जारी छ । रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन रहेका ९३ जनाको समेत खोजी भइरहेको छ ।

हालसम्म कुन आयोजनाको सुरुङमा कति जना फसेका छन् भन्ने यकिन तथ्यांक सार्वजनिक हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत् आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन् । तीमध्ये पाँच सयभन्दा बढी व्यक्ति सुरुङभित्र फसेको अनुमान गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.