काठमाडौं, १५ भदाै । काठमाडौं जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डअन्तर्गत कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा अत्यावश्यक सामग्रीको अभाव नहुने सरकारी निकायले जनाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पर्याप्त खाद्यान्न मौज्दात रहेकाले तत्काल बजारमा अत्यावश्यक वस्तुको अभाव हुने अवस्था छैन । सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट खाद्यवस्तु आपूर्ति गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति पनि वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ । निगमका अनुसार अमलेखगञ्ज डिपोमा पाइपलाइनमार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौंमा पेट्रोल, डिजेललगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ ।
एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ । मालसामान ढुवानीका लागि विभिन्न वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । ठूला सवारीसाधनका लागि नौबिसे–पालुङ–भैँसे तथा साना सवारी र माइक्रोबसका लागि फर्पिङतर्फको वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
पश्चिम नेपालबाट काठमाडौं आउने सवारीसाधनका लागि गोरखा सदरमुकाम हुँदै बुंकोट–नाम्जुङ–घैरुङ–दुर्वुङ–सिउरेनीटार–बेनीघाट जोड्ने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ । त्यस्तै, गोरखा–नाम्जुङ–बुंकोटघाट–बेनीघाट मार्गलाई पनि अर्को विकल्पका रूपमा प्रयोग गर्न सकिने बताइएको छ । यो मार्ग पोखरा, गोरखा तथा पश्चिम नेपालबाट काठमाडौं आवतजावत गर्ने सवारीका लागि उपयोगी हुने देखिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब २० मिटर लामो सडकको आधाभन्दा बढी भाग भासिएपछि यातायात अवरुद्ध भएको हो । सरकारी निकायले वैकल्पिक मार्गमार्फत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई निरन्तरता दिने भएकाले सडक अवरोधका कारण काठमाडौंमा तत्काल दैनिक उपभोग्य सामग्रीको अभाव नहुने स्पष्ट पारेका छन् ।
