भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सिँचाइ आयोजनाले किसानका गोठ सुधारमा सघाउँदै

सिँचाइ आयोजनाले किसानका गोठ सुधारमा सघाउँदै

टीकापुर । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन पालिका टीकापुर, लम्कीचुहा र जानकीका किसानलाई कृषि तथा पशुपालनमा विभिन्न खाले सहयोग गरिरहेको छ ।

तीन पालिकामा व्यावसायिक रुपमा बाख्रापालन गर्ने कृषि फार्म दर्जनौँ छन् भने समूहमार्फत सयौँ किसानले बाख्रा पाल्दैआएका छन् । क्षति कम हुने भएकाले बाख्रापालन किसानको रोजाइमा पर्दै आएको छ । कालिका कृषि तथा पशुपालन फार्म लम्कीचुहा–३ चिसापानीका सञ्चालक भरत न्यौपानेले १५ वर्षदेखि बाख्रापालन गरिरहेका छन् । उनीसँग हाल ५० बाख्रा छन् ।

बाख्रापालन गर्दा उचित बजारको समस्या र बाख्रामा फैलिने नयाँ नयाँ रोगले किसानलाई सास्ती हुने गरेको न्यौपानेको भनाइ छ । “आधुनिक ढङ्गले बाख्रापालन गर्न किसानलाई चुनौती छ”, उनी भन्छन्, “मेहनत गर्ने हो भने बाख्रापालनबाट मनग्य आम्दानी हुन्छ । वार्षिक रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ ।”
लम्कीचुहाकै गोरांगेकी गौरादेवी शाहीले व्यावसायिक रुपमा २०७४ सालदेखि बाख्रापालन गर्दैआएकी छिन् ।

“सुक्खायाममा घाँसको अभाव तथा बाख्रालाई निमोनियाको समस्या हुँदा निजी प्राविधिक बोलाउनुपर्छ । व्यावसायिक रुपमा पालन गर्ने किसानले खोरमै प्राविधिक लैजानुपर्छ”, उनले भनिन्, “उपचार पनि खर्चिलो हुन्छ ।” विगत र अहिले गरिने बाख्रापालनमा फरक छ । चरिचरनको अभाव हुँदा अप्ठेरो भइरहेको किसानको गुनासो छ । जानकी गाउँपालिका–९ का खेमबहादुर चन्द बाख्रापालन गर्न चरन आवश्यक भएको बताउछन् । “चरन अभावमा बाख्रापालन खर्चिलो हुन थालेको छ”, उनी भन्छन्, “आहारामा कम लागत कसरी लगाउने भन्नेबारे किसानले योजना बनाउन आवश्यक छ ।”

विसं २०६३ देखि गाउँमा बाख्रापालन समूह बनाएर बाख्रापालन गर्दै आएकी टीकापुर–३ रामपुरकी लालमती चौधरी पनि गर्मीमा सिँचाइ सुविधा नभएकाले घाँसको समस्या रहेको बताछिन् । “बर्खामा घाँसको समस्या हुँदैन, आजभोलि भने घाँसको समस्या छ”, उनले भनिन्, “तर पनि सजिलो पेसा भएकाले यसमा लागिरहेका छौँ ।”

यसरी व्यावसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई स्थानीय तहमा रहेका पशु सेवा शाखा र रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले सहयोग गर्दै आएको छ । आयोजनाले बाख्रा फार्म सुधार, जैविक सुरक्षालगायतमा अनुदान सहयोग गर्दै आएको छ । किसानले आवश्यकता मध्यनजर गरी माग गरेमा फार्मलाई रु एक लाख ५० हजारदेखि दुई लाखसम्म ५० प्रतिशत अनुदान सहयोग, साना किसानलाई पनि रु २५÷३० हजार समूहमार्फत सहयोग गरिरहेको छ ।

यसका साथै परजीवीविरुद्ध औषधि, मिनिरल, भिटामिन सहयोग गर्ने गरेको आयोजनाका पशु स्वास्थ्य प्राविधिक पुष्पराज भारतीले बताए । “हामीले मागअनुसार सहयोग गरिरहेका छौँ, किसानलाई व्यावसायिक बनाउन आयोजनाले विभिन्न सहयोग, अनुदान दिने गरेको छ”, उनी भन्छन्, “यसका साथै प्राविधिक ज्ञान र सल्लाहसमेत दिने गरेका छौँ ।” रासस

 


Thali Mobile Pvt.Ltd.