काठमाडौं, ३ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा देशको दिगो शान्ति, सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतालाई समान संरक्षण प्रदान गरेको उल्लेख गरेका छन् । उनले नेपालीबीच कायम आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने कुनै पनि गतिविधि नहोस् भन्ने विश्वास व्यक्त गरेका छन् ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिले सिंगो देश दुःखमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपद्को यस कठिन अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सबै एकजुट हुन आग्रह गरेका छन् ।
संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत देशमा दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्न प्रेरणा मिलोस् भन्ने कामनासमेत उनले गरेका छन् ।
दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गरेका छन् ।
