काठमाडौं । रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट थप ११ जनाको शव निकालिएको नेपाली सेनाले जनाएको छ । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा सुरुङभित्र ११ वटा शव फेला परेको सेनाले जनाएको हो ।
जालीमा अल्झिएको र हिलोमा दबिएको अवस्थामा शव फेला परेपछि सुरुङबाट बाहिर निकालिएको सेनाले जानकारी दिएको छ । सेनाका अनुसार यसअघि पनि सोही सुरुङबाट १३ जनाको शव निकालिएको थियो । बाहिर निकालिएका शवको आवश्यक व्यवस्थापन तथा पहिचानको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।सुरुङभित्र हराइरहेकाहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।
