हेटौँडा, ३ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गर्न तीनवटै तहका सरकार क्रियाशील हुनुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले संविधानको अक्षरसः पालना गर्दै प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासमार्फत समृद्ध प्रदेश निर्माणमा प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु सबै तहका सरकारको साझा दायित्व रहेको उल्लेख गरे । प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन प्रदेश सरकार निरन्तर क्रियाशील रहेको पनि मुख्यमन्त्री थापाले सन्देशमार्फत जानकारी दिएका छन् ।
