काठमाडौं, २ भदौ । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ। परिवार कल्याण महाशाखाका अनुसार हालसम्म ६३ जनामा जेइ संक्रमण पुष्टि भएको छ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशका २२ जिल्लाका ५० स्थानीय तहमा जेइ संक्रमित भेटिएका छन्। देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकामा ६३ जनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको हो।
पछिल्लो पाँच दिनमा मात्रै थप नौ जनामा जेइ संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ३४ पुरुष र २९ महिला रहेका छन्। कुल संक्रमितमध्ये ३१ जना अहिले उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ।
जेइ संक्रमणबाट मृत्यु भएका १६ जनामध्ये कसैले पनि खोप नलगाएको पाइएको महाशाखाले जनाएको छ। मृत्यु हुनेमा नौ महिला र सात पुरुष छन्। मृतकमध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको तथ्याङ्कले देखाएको छ। उमेर समूहअनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा जेइ संक्रमण बढी देखिएको छ। मृत्यु भएकामध्ये झापामा पाँच जना, सुनसरी र सप्तरीमा दुई–दुई जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ।
पश्चिमतर्फ पनि फैलिँदै संक्रमण
जापानिज इन्सेफलाइटिसको संक्रमण यसअघि मुख्यतः नेपालको पूर्वी क्षेत्रमा बढी देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको महाशाखाले जनाएको छ। जापानिज इन्सेफलाइटिससम्बन्धी स्थिति प्रतिवेदनअनुसार अधिकांश संक्रमित धानबारी तथा सुँगुर फार्म आसपास बसोबास गर्ने गरेको पाइएको छ। संक्रमितमध्ये ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको तथ्याङ्कमा उल्लेख छ।
कसरी सर्छ जेइ ?
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी गम्भीर संक्रमण हो। भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी तथा सुँगुरजस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि मानिसमा संक्रमण फैलिन सक्छ। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन स्वास्थ्यसम्बन्धी निकायले आग्रह गर्दै आएका छन्।
