जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरू पक्राउ, धम्की दिने अर्जुन शाहीसमेत हिरासतमा

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरू पक्राउ, धम्की दिने अर्जुन शाहीसमेत हिरासतमा

काठमाण्डौ, ३० असाेज ।  गएको भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी गर्ने तथा ‘जेनजी’ भन्दै धम्क्याउने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ।

केही दिनअघि ‘जेनजी’ भन्दै विभिन्न कार्यालयका कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ। उनको गतिविधिबारे गुनासो आएपछि सोधपुछ र अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले बताएको छ।

जेनजी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने नाममा उनले विभिन्न सरकारी कार्यालयका प्रमुखहरूलाई भेटेर केरकार गर्ने गरेका थिए।नागरिक उड्डयान प्राधिकरण र नेपाल वायुसेवा निगमका कर्मचारीहरूले समेत उनको धम्कीपूर्ण गतिविधिबारे गुनासो गरेपछि अनुसन्धानमा उनी वैदेशिक ठगी र बैंकिङ कसुरका आरोपीसमेत रहेको खुलेको प्रहरीले जनाएको छ।

यस्तै, भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शनमा सहभागी एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भन्ने राजु परियार रहेका छन्।

प्रहरीका अनुसार परियारले प्रदर्शनका क्रममा सुरक्षाकर्मीको एसएलआर बोक्दै सिंहदरबार मूलद्वारअगाडि र अन्य स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरी क्षति पुर्‍याएका थिए।

 


Thali Mobile Pvt.Ltd.