भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

कागबेनीवासीले श्रमदान गरेर बनाए कागखोलामा पुल

कागबेनीवासीले श्रमदान गरेर बनाए कागखोलामा पुल

काठमाडौं । गत साउन २८ गते आएको बाढीले बगाएको मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलाको पुल मुस्ताङीले श्रमदान गरेर निर्माण गरेका छन्।

पुल निर्माण भएपछि तिरी गाउँ पुग्न घुमाउरो बाटो प्रयोग गरेर चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ। तिरी गाउँ कागबेनीबाट पारीपट्टी रहेको तर सवारीसाधनको पहुँच विस्तार नभएको गाउँ हो । उक्त गाउँलाई मुस्ताङको सदरमुकाम जोमसोमलगायत अन्य ठाउँसँग तिरी गाउँलाई जोड्ने एकमात्र माध्यम कागखोलाको पुल थियो। उक्त पुल बाढीले बगाएपछि तिरी गाउँ सम्पर्कविहीनको अवस्थामा थियो।

कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी गाउँ र कागबेनी आवतजावत गर्न करिब चार घण्टा पैदल यात्रा गरेर जानुपर्ने बाध्यता रहेकामा मुस्ताङीले सोही ठाउँमा जनश्रमदान गरेरै पुल निर्माण गरी चार घण्टाको बाटोलाई छोट्याएको गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले बताए।

उनका अनुसार तिरी गाउँमा सिधै जान कागखोला तर्न सकिँदैन । घुमेर जाँदा पाङलिङ, फल्याकलगायतका गाउँ हुँदै निकै घुमेर जानुपर्ने अवस्था थियो । त्यो घुमाउरो बाटो पैदल यात्राका लागिसमेत अप्ठ्यारो भएकाले यात्रीले करिब एक महिनादेखि निकै सास्ती भोग्दै आएका थिए ।

जनश्रमदान, छिमेकीसँगको सहसम्बन्ध, अर्मपर्म र सहयोगलाई पुख्र्यौंली संस्कृतिका रूपमा मान्दै आएका मुस्ताङीले यसपटकको विपत्तिमा पनि उदाहरणीय काम गरेको मुस्ताङमा सामान ढुवानीको व्यवसाय गर्दै आउनुभएका कृष्ण शर्माले बताए।

उनका अनुसार मुख्यतः तिरी, कागबेनी र पाङलिङ गाउँबाट आएका नागरिकले दैनिकरूपमा जनश्रमदान गरेर कागखोलामाथि पुल निर्माण गरेका थिए। पैदलयात्रा र दुईपाङ्ग्रे सवारीसाधन सहजै तर्नसक्ने अस्थायी काठे पुलबाट अप्ठ्यारो परेका बेलामा ट्याक्सी पनि पार हुनसक्ने गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए।

पुल नभएका कारण अत्यावश्यक सामग्रीसहित दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुँदै आएको थियो। स्वास्थ्य सामग्रीको आपूर्ति गर्नसमेत समस्या भएको थियो । उपचारका लागि तल झर्नुपर्ने वा उपचार गरेर गाउँ फर्किनेलाई पनि समस्या भएको थियो।

उक्त ठाउँमा यसै वर्ष गाडी तर्नसक्ने पुल निर्माण गर्ने योजना राखेर वडामा बजेट राखिएको अध्यक्ष गुरुङले जानकारी दिए। अब त्यो बजेटको शीर्षक परिवर्तन गरेर कागबेनीका बाढीपीडितको पुनःस्थापनका लागि खर्च गर्नुपर्ने अवस्था आएको पनि उनले बताए।

 


Thali Mobile Pvt.Ltd.