कलंकी ग्याङफाइट प्रकरण: सर्वोच्चको नजिर टेकेर २१ जनाविरुद्ध ज्यान मुद्दा, चार जना अझै फरार

कलंकी ग्याङफाइट प्रकरण: सर्वोच्चको नजिर टेकेर २१ जनाविरुद्ध ज्यान मुद्दा, चार जना अझै फरार

काठमाडौँ, ७ वैशाख । काठमाडौँको कलंकी खड्कागाउँमा भएको ग्याङफाइटमा अभय भनिने अबेबहादुर तामाङको हत्या प्रकरणमा २१ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर भएको छ। प्रहरीले आक्रमणमा प्रत्यक्ष संलग्न नभएको दाबी गर्नेहरूलाई समेत प्रतिवादी बनाएर सर्वोच्च अदालतको नजिरलाई आधार बनाएको छ। चार जना भने अझै फरार छन्।

घटनाको विवरण
गत ११ चैत २०८० को राति साढे ७ बजे काठमाडौँ महानगरपालिका–१४, खड्कागाउँमा भएको ग्याङफाइटमा २३ वर्षीय अभयको हत्या भएको थियो। प्रहरीका अनुसार, रोहित खड्का (र्‍याबिट) र अभयको नेतृत्वमा रहेका दुई समूहबीचको झडपमा खुकुरी, रड, पाइप, ढुंगा र मुक्का प्रहार भएको थियो। गम्भीर घाइते अभयको शहीद ममोरियल अस्पतालमा मृत्यु भएको थियो। सोही झडपमा अभयको समूहका सन्दीप भुजेल, पवन तामाङ र पासाङ शेर्पा घाइते भएका थिए । उनीहरूको उपचारपछि अवस्था सुधारोन्मुख छ ।

मुद्दा दायर र प्रतिवादी
प्रहरी वृत्त कालिमाटीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले २१ जनाविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १७७ अन्तर्गत कर्तव्य ज्यानको मुद्दा दायर गरेको छ। यो दफामा ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदको सजाय हुने व्यवस्था छ ।

प्रतिवादीहरू:

अजित बुढाथोकी (२५),  रोहित खड्का (२४),  डेबिट घले (२०),  विनय वाइवा लामा (२४),  अनुज महर्जन (२०),  सुजन तामाङ (२१),  राज अर्याल (२५), निश्चल थापामगर (२१), प्रदिप श्रेष्ठ (२३), सुसन श्रेष्ठ (२१), साङ्गे तामाङ (२१),  निराजन गोले (१८),  गौतम कमर जोगी (१८),  विनय आले मगर (२३), निश्चल ब्लोन (१९),  दानिएल विश्वकर्मा (१९),  खेमराज मगर (२१),  आशिष श्रेष्ठ (२१),  रन्जित श्रेष्ठ (२३),  प्रमिन झ्याडी (२०),  प्रगेश गुरुङ (२२)
दुई व्यक्तिको पहिचान हुन बाँकी रहेको र पछि पूरक जाहेरीमार्फत मुद्दा चलाउने अभियोगपत्रमा उल्लेख छ ।य 

यस्ता घटनामा सर्वोच्चको नजिर के छ ?
यसअघि यस्ता घटनामा प्रहरीले प्रत्यक्ष संलग्नलाई मात्र मुद्दा चलाउने गरेको थियो । उदाहरणका लागि, ढोलाहिटी ग्याङफाइट (१२ चैत २०८०) मा १८ जना पक्राउ परे पनि ६ जनाविरुद्ध मात्र मुद्दा चलाइएको थियो । तर, कलंकी प्रकरणमा १० जनाले कुटपिटमा संलग्न नभएको बयान दिए पनि उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ ।

सरकारी वकिल कार्यालयले सर्वोच्च अदालतको नजिर (नेपाल कानुन पत्रिका २०७१, अंक ९, नि. नं. ९२४९) लाई आधार बनाएको छ। अभियोगपत्रमा भनिएको छ, “समूहमा बसेर एकअर्कालाई उक्साएर वा हातै हालेर कुटपिट गरेमा सबै प्रतिवादी समान रूपमा जिम्मेवार हुन्छन्। कसले कति कुट्यो वा कसको प्रहार घातक भयो भन्ने कुरा प्रासंगिक हुँदैन।”

चार प्रतिवादीको आपराधिक पृष्ठभूमि
प्रतिवादीमध्ये चार जना यसअघि विभिन्न मुद्दामा दोषी ठहर भएका छन्:

सुजन तामाङ: अभद्र व्यवहार (जिल्ला प्रशासन कार्यालय, काठमाडौँ)
विनय वाइवा लामा: लागुऔषध (१३ असोज २०७७)
अजित केसी: चोरी (१६ मंसिर २०७८)
साङ्गे तामाङ: अभद्र व्यवहार (९ साउन २०८१)
मुलुकी फौजदारी अपराध संहिताको दफा ४४(२) अनुसार थप सजाय माग गर्नुपर्ने भए पनि जन्मकैद माग गरिएकाले थप सजाय मागिएको छैन ।

झगडाको पृष्ठभूमि
प्रहरीका अनुसार, रोहित खड्का (र्‍याबिट) को नेतृत्वमा रहेको समूह पहिले एकै थियो । होलीको अघिल्लो दिन निश्चल मगर र अभयबीच विवाद भएपछि समूह दुई भागमा विभाजित भएको थियो । अभयले निश्चललाई थप्पड हानेको र रोहितको मोबाइल अभयको समूहले चोरेको आरोपले दुष्मनी बढेको प्रहरीको भनाइ छ।

११ चैतको साँझ दुई समूहबीच फोन र म्यासेजमार्फत “भिड्ने” चुनौती दिइएको थियो । अभय चार जनाको समूह लिएर पुगेका थिए भने रोहितको समूहमा २० जना थिए । नसाको सुरमा धारिलो हतियार र रड प्रयोग भएको प्रहरीले जनाएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा प्रतिवादीहरूको बयान भइरहेको छ । बयानपछि थुनछेक बहस हुनेछ। अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गर्नेछ ।

प्रहरीको अनुसन्धान
घटनापछि प्रहरीले १७ जनालाई पक्राउ गरेको थियो । चार जना अझै फरार छन्, तर उनीहरूको पहिचान भइसकेको र चाँडै पक्राउ पर्ने प्रहरीको दाबी छ । अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी,  जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको थियो ।

 

 

 


Thali Mobile Pvt.Ltd.