काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा आइतबार राजधानी काठमाडौँमा आयोजित प्रदर्शन सम्पन्न भएको छ । प्रदर्शनका क्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ नेताहरू पक्राउ परेका छन् । पार्टीले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारविरुद्ध र तीनकुने घटनाको न्यायिक छानबिनको माग गर्दै प्रदर्शन गरेको थियो ।
राप्रपाका नेता–कार्यकर्ताहरू बिहान बिजुली बजारमा भेला भएर नाराबाजीसहित नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र नजिक पुगेका थिए । यता, सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवालले वर्तमान व्यवस्थाविरुद्ध नारा लेखिएका पम्प्लेटसहित सांकेतिक प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले पम्प्लेट खोसेर नेताहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका नेताहरूलाई जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको छ। कटुवाललाई सिंहदरबार परिसरबाट डीएसपी हरि खतिवडाको टोलीले पक्राउ गरेको हो, जुन बेला उनी लिङ्देनको गाडी (प्रदेश–१–०२७ च ९८६२) मा सवार थिए ।
पक्राउ पर्नुअघि लिङ्देनले सरकारमाथि लोकतान्त्रिक अधिकार खुम्च्याएको आरोप लगाए । उनले भने, “बोल्न, लेख्न र प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकारमाथि सरकारले रोक लगाएको छ। हाम्रो प्रदर्शन सरकारको निरङ्कुशताविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण हो ।” उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन र पक्राउ परेका नेताहरूको तत्काल रिहाइको माग पनि गरे ।
नेताहरू पक्राउ परेसँगै राप्रपाले धुम्बाराहीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकमा पक्राउको घटना, आन्दोलनको आगामी रणनीति र संगठन सुदृढीकरणबारे छलफल हुनेछ ।यता, राप्रपाले लामो समयदेखि संवैधानिक राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना, संघीयताको खारेजी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको छ। पार्टीले तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनमा राज्यको संलग्नतामा हिंसा भड्किएको आरोप लगाउँदै न्यायिक छानबिनको माग गरेको छ। साथै, पक्राउ परेका नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्रसहितको तत्काल रिहाइको माग पनि राखिएको छ।
राप्रपाले निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था अपनाएको थियो । बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। प्रदर्शन शान्तिपूर्ण भए पनि सिंहदरबारभित्रको सांकेतिक प्रदर्शनले तनाव सिर्जना भएको प्रहरीको भनाइ छ ।
प्रदर्शन र पक्राउको घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। कतिपयले राप्रपाको शान्तिपूर्ण प्रदर्शनलाई समर्थन गरेका छन् भने कतिपयले निषेधित क्षेत्रमा प्रदर्शन गर्नु गलत भएको टिप्पणी गरेका छन् । एक एक्स प्रयोगकर्ताले लेखे, “लोकतन्त्रमा प्रदर्शन गर्न पाउनुपर्छ, तर निषेधाज्ञा तोड्नुले सन्देश गलत जान्छ।”
राप्रपाले वैशाख ९ गते देशका ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै, उपत्यकाका सबै वडामा संगठन विस्तार र आन्दोलनलाई केन्द्रित गर्ने योजना छ। पार्टीले पक्राउ परेका नेताहरूको रिहाइका लागि कानुनी र राजनीतिक लडाइँलाई तीव्र बनाउने जनाएको छ।
