भर्खरै : Sorry, your browser does not support inline SVG.

स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल बनाउँदै महानगर

स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल बनाउँदै महानगर

काठमाडौँ, ३ मंसिर । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकलाई सरल, सहज, व्यवहारिक र वैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ । महानगर शिक्षा विभागले विज्ञ समूह गठन गरेर प्रक्रिया अगाडि बढाएको हो ।

नेपाल भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा संशोधन तथा परिमार्जन समितिका पदाधिकारी तथा विषय विज्ञसँगको छलफलमा उपप्रमुख सुनिता डङ्गोलले सिकाइ विधिलाई निर्देशित गर्ने पाठ्यपुस्तकलाई बालमैत्री बनाउँदै लैजानुपर्ने बताइन् । उनले पाठ्यक्रम तर्जुमा गर्दा तथा पाठ्यपुस्तक पुनर्लेखन गर्दा त्यसको प्रभावकारितालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।

“स्थानीय भाषाको पठनपाठन थप पुस्तक पढाउन र परीक्षा लिनका लागि मात्र होइन, यसले पहिचान तथा रैथाने समुदायको मौलिकता र चिनारी पनि स्थापित गर्छ भन्ने हो । यो उद्देश्य पूरा गराउने गरी पाठ्यपुस्तक आवश्यक छ”, उनले भनिन्, “यसको प्रभावकारी शिक्षणका लागि संस्थागत विद्यालयमा नेपाल भाषा अध्यापन गर्ने शिक्षकरशिक्षिकाहरूलाई प्राथमिकतामा राखेर यसपछिको क्षमता विकास कार्यक्रम आयोजना गर्न ध्यान दिन आवश्यक छ ।”

सामुदायिक विद्यालयमा नेपाल भाषाका सहायक प्रशिक्षकहरूका लागि विभिन्न चरणमा तालिम दिइएकाले यस पटक संस्थागत विद्यालयका शिक्षकरशिक्षिकालाई प्राथमिकतामा राखेर तालिम दिनुपर्नेमा उपप्रमुख डङ्गोलको जोड छ ।

महानगरपालिकाले स्थानीय पाठ्यक्रम तर्जुमा गर्ने क्रममा कक्षा १ देखि ८ सम्म नेपाल भाषाको ‘येँ देय् म्हसिके’अर्थात् ‘काठमाडौँलाई चिनौँ’ पाठ्यपुस्तक पढाइरहेको छ । यससँगै तामाङ भाषाको पाठ्यपुस्तक पनि कार्यान्वयनमा छ ।

यी विषयका परीक्षामा कक्षा ४ र ५ मा ७५ अङ्कको अभ्यास र २५ अङ्कको सैद्धान्तिक मूल्याङ्कन हुने गरेको छ । कक्षा ६, ७ र ८ मा भने ५० अङ्कको अभ्यास र ५० अङ्कको सैद्धान्तिक मूल्याङ्कन गर्ने गरिएको छ ।

स्थानीय पाठ्यपुस्तकका पाठहरूमा मौलिक नाम, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्ष, जात्रा, चाडपर्व, संस्कार संस्कृतिलाई चिनाउने चित्र र सङ्केत राखिएका छन् ।

काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, सीप, कौशल, व्यवसाय, स्वास्थ्य, सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय बोल्ने भाषा, लेख्ने लिपि, परम्परागत खेलजस्ता कुरा विषयवस्तुको रूपमा राखिएका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.