भक्तपुर, १४ जेठ । पूर्व उद्योगमन्त्री तथा नेकपा नेता सोमप्रसाद पाण्डेले नेपालमा रहेका प्राकृतिक स्रोत र खानीहरूको व्यवस्थित उत्खनन तथा सञ्चालन गर्न सके देशमा आर्थिक क्रान्ति सम्भव हुने बताएका छन् । उनले सरकारले अब अध्ययन र सम्भावनाको बहसभन्दा अघि बढेर व्यावसायिक उत्पादनमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए ।
रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले दैलेखमा फेला परेको पेट्रोलियम, मुस्ताङको युरेनियम सम्भावना तथा पाल्पाको फलाम खानीलाई राष्ट्रिय प्राथमिकतामा राखेर विकास गर्नुपर्ने बताए । उनका अनुसार यी स्रोतहरूको सही उपयोग गर्न सके नेपाल आर्थिक आत्मनिर्भरतर्फ अघि बढ्न सक्छ । उनले विशेषगरी दैलेखको पेट्रोलियम उत्खननलाई अब परीक्षण र अध्ययनमै सीमित नराखी व्यावसायिक उत्पादनतर्फ लैजानुपर्ने बताए । “नेपालले हरेक वर्ष इन्धन आयातमा अर्बौं रुपैयाँ विदेश पठाइरहेको छ,” उनले भने, “यदि आफ्नै स्रोतको उपयोग गर्न सकियो भने राष्ट्रिय अर्थतन्त्रलाई ठूलो राहत मिल्छ ।”
मुस्ताङ क्षेत्रमा रहेको भनिएको युरेनियम सम्भावनाबारे बोल्दै पाण्डेले यसको वैज्ञानिक अध्ययन, सुरक्षा संवेदनशीलता र दीर्घकालीन राष्ट्रिय हितलाई ध्यानमा राखेर सरकार अघि बढ्नुपर्ने धारणा राखे । उनले मुस्ताङमा ठूलो परिमाणमा युरेनियम रहेको दाबी गर्दै यस क्षेत्रमा विदेशी चलखेल हुन सक्ने भएकाले नेपाल सरकारकै अग्रसरतामा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै पाल्पाको फलाम खानीलगायत अन्य खनिज स्रोतहरूको उचित उत्खननले उद्योग क्षेत्रलाई मजबुत बनाउने उनको भनाइ थियो । “नेपालमा खानी, जलविद्युत्, पर्यटन र कृषि क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सकियो भने देशले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्छ,” उनले बताए । पाण्डेले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रको अथाह सम्भावना हुँदाहुँदै पनि स्पष्ट नीति, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे । अबको प्रमुख राजनीतिक एजेन्डा आर्थिक रूपान्तरण हुनुपर्ने उनको भनाइ थियो ।
कृषि क्षेत्रबारे बोल्दै उनले आधुनिक प्रविधि, बजारीकरण र कृषकलाई प्रोत्साहन गर्न सके नेपाल कृषि उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी बन्न सक्ने बताए । अन्तरसंवाद कार्यक्रममा उनले मानवअधिकार आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । दोषीलाई कानुनी दायरामा ल्याउने र निर्दोषलाई संरक्षण गर्ने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।
पाण्डेले वर्तमान सरकारप्रति जनताले ठूलो अपेक्षा राखेको उल्लेख गर्दै सरकार परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताए । साथै राजनीतिक दलहरूले समयअनुसार आफ्ना कमजोरी सुधार गर्न नसके जनताबाट अस्वीकृत हुन सक्ने चेतावनीसमेत दिए ।
