भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

प्राकृतिक शीतभण्डारबाट किबीमा तेब्बर मूल्य

प्राकृतिक शीतभण्डारबाट किबीमा तेब्बर मूल्य

पाँचथर, २३ मंसिर । पाँचथरको फिदिम–३ लालीखर्कका कृषक बलबहादुर राई प्राकृतिक शीतभण्डार प्रयोग गरेर किबी भण्डारण गर्ने नयाँ प्रविधिबाट ठूलो आर्थिक फाइदा उठाउँदै आएका छन्।

उत्पादनको मुख्य याम सकिएपछि किबी बजारमा पुर्‍याउँदा मूल्य सामान्यतया घट्ने गर्छ। तर राईले बनाएको प्राकृतिक शीतभण्डारमा किबी चारदेखि छ महिनासम्म सुरक्षित राखेपछि मूल्य तेब्बर वृद्धि हुने गरेको छ।

राईले किबीको व्यावसायिक खेतीको तालिम २०७६ सालमा इलाममा सिकेका थिए। त्यही समयमा किबी प्राकृतिक चिसाइमा पनि दीर्घ समयसम्म सुरक्षित रहने जानकारी पाएपछि चार वर्षअघि घरमै शीतभण्डार निर्माण गरेका हुन्।

उनको भनाइमा, “जमिनको प्रकृति अनुसार प्राकृतिक शीतभण्डार बनाइन्छ। मेरो जग्गा चिसो र घाम नपर्ने भएकाले यहाँ उत्कृष्ट रूपमा काम गरेको छ।”

कसरी बनाइन्छ प्राकृतिक शीतभण्डार?

राईले जमिनमा खाडल खनी काठको लेयर विच्छ्याएर भण्डारणघर तयार पारेका छन्। भित्री सतहलाई त्रिपालले ढाकेर पानीबाट जोगाइन्छ। यसमा करिब ६० क्यारेटसम्म किबी भण्डारण गर्न सकिन्छ।

मंसिरमा राखिएको किबी वैशाख–जेठसम्म पनि उस्तै स्वाद र ताजगीसहित टिक्ने उनले बताए।राईका अनुसार, “विद्युत् आधारत शीतभण्डारमा चिसाइ बिग्रिन सक्छ तर प्राकृतिक शीतभण्डारमा त्यस्तो जोखिम हुँदैन।”

बजार मूल्यमा ठूलो अन्तर

किबी उत्पादन धेरै हुँदा किसानले तत्कालै बेच्नुपरेर सस्तो मूल्य पाउने समस्या यतिबेला धेरै छ। तर राई भने फागुनपछि किबी बिक्री गर्दा प्रतिकिलो १०० रुपैयाँसम्म बढी मूल्य पाउँछन्।
सधैं ६० रुपैयाँमा बिक्री हुने ‘बी ग्रेड’ किबी चैत–वैशाखपछि १५० रुपैयाँसम्ममा बिक्री हुने उनले बताए।

“यस वर्ष धेरै किबी फालाफाल छ। शीतभण्डारमा नअट्ने किबी सुरुमा बेचिदिएँ। बाँकी किबी भण्डारण गर्दैछु,” राईले भने।

किबी खेतीबाट वार्षिक २ लाख आम्दानी

राईले १५ रोपनी जग्गामा २०० बोट किबी रोपेका छन्। हाल ४० बोटले उत्पादन दिइरहेका छन्। वार्षिक दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको र आगामी वर्ष अझै बढ्ने अपेक्षा उनले व्यक्त गरे।

राईले मुख्यतया हेवार्ड जातिका किबी रोपेका छन्, जसको बिरुवा टिकाउ र दीर्घायु हुने बताइन्छ।पूर्वी नेपालमा किबी खेती विस्तारसँगै उत्पादन बढेपछि मूल्य क्रमशः घट्दै गएको भए पनि परम्परागत बालीको तुलनामा किबीबाट अधिक आम्दानी हुने राईको अनुभव छ।

प्राकृतिक शीतभण्डारमा मुसाको समस्या हुने गरेको राईले बताए। मुसाले टोकेपछि किबी पाकेर गन्हाउने समस्या हुने भएकाले यसतर्फ विशेष ध्यान दिनु पर्ने उनको सुझाव छ।

उनले शीतभण्डार नभएका स्थानका कृषकलाई पनि आफ्नो स्थानीय हावापानीको अवस्था हेरी प्राकृतिक शीतभण्डार परीक्षण गर्न सिफारिस गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.