तेहरान । अमेरिका र इजरायलसँगको लामो द्वन्द्व तथा आर्थिक प्रतिबन्धको मारमा परेको इरान अहिले ‘न युद्ध, न शान्ति’को जटिल अवस्थाबाट गुज्रिरहेको छ । युद्धको प्रभावसँगै दशकौँदेखिको आर्थिक कुप्रबन्धन, भ्रष्टाचार र बाह्य दबाबका कारण सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ ।
इरानको करिब ९ करोड जनसंख्यामध्ये ठूलो हिस्सा आर्थिक संकटको प्रत्यक्ष मारमा परेको बताइएको छ । रोजगारी र आम्दानीको अवस्था कमजोर हुँदै जाँदा बढ्दो महँगीले सर्वसाधारणको जीवनयापन थप चुनौतीपूर्ण बनेको छ । इरानी तथ्याङ्क केन्द्रका अनुसार अगस्ट २२ मा समाप्त भएको इरानी क्यालेन्डरको पाँचौँ महिना मोर्दादमा वार्षिक मुद्रास्फीति ८९ प्रतिशत पुगेको थियो । खाद्य मुद्रास्फीति भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२७ प्रतिशतभन्दा बढी पुगेको जनाइएको छ ।
तेहरानमा कार्यरत एक डाटा विश्लेषकले तीन वर्षअघि आफूले पाउने मासिक तलबको मूल्य करिब १ हजार अमेरिकी डलर बराबर रहे पनि अहिले तीनपटक तलब बढ्दा पनि त्यसको वास्तविक मूल्य ५०० डलरभन्दा कम भएको बताएका छन् । यसैबीच इरानी मुद्रा रियाल अमेरिकी डलरको तुलनामा ऐतिहासिक न्यून बिन्दुमा पुगेको छ । तेहरानको खुला बजारमा शनिबार एक अमेरिकी डलर बराबर २० लाख ६० हजार रियाल पुगेको बताइएको छ ।
युद्धका क्रममा तेल तथा ग्यास केन्द्र, पेट्रोकेमिकल र स्टिल उद्योग, उपयोगिताका संरचना तथा घर, बन्दरगाह, विमानस्थल र पुललगायत पूर्वाधारमा भएको क्षतिले पनि अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इरानमा इन्धन र बिजुलीको अभावसमेत बढ्दै गएको छ । आगामी जाडोयाममा प्राकृतिक ग्यासको अभाव हुन सक्ने भन्दै अधिकारीहरूले तयारी गरिरहेका छन् । सरकारले निजी सवारीसाधनका लागि इन्धनको कोटा घटाइसकेको छ भने पेट्रोलको मूल्य बढाउने तयारीसमेत गरेको बताइएको छ ।
युद्धको अवस्थामा पनि अमेरिका र इरानबीच कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयास भइरहेको छ । स्ट्रेट अफ होर्मुजको पारवहन मार्ग खुला गर्ने विषयमा ओमानसँग समझदारी भएको इरानले जनाएको छ ।
तर इरानको आणविक कार्यक्रमलगायतका विषयमा अमेरिका र इरानबीच गम्भीर मतभेद कायमै छन् । अमेरिकी प्रतिबन्ध र दबाबका कारण तत्कालै कूटनीतिक समाधान निस्कने सम्भावना भने कमजोर देखिएको छ ।
इरानको सत्तापक्षभित्र पनि युद्ध र कूटनीतिक समाधानबारे मतभेद देखिएको बताइएको छ । यद्यपि अमेरिका र इजरायलसामु आत्मसमर्पण नगर्ने विषयमा सत्तापक्षमा समान धारणा रहेको जनाइएको छ ।
आर्थिक संकटसँगै इरानमा सामाजिक तथा राजनीतिक दबाबसमेत बढिरहेको छ । सरकारी अधिकारीहरूले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरिरहेका छन् ।
तर अर्कोतर्फ असहमति व्यक्त गर्ने तथा सरकारको आधिकारिक धारणाविपरीत गतिविधि गर्नेहरूमाथि कडाइ बढाइएको बताइएको छ ।न्यायपालिकाले मृत्युदण्डका फैसला जारी राखेको र राष्ट्रिय सुरक्षाको नाममा विभिन्न व्यक्तिमाथि कारबाही भइरहेको समाचारमा उल्लेख छ ।यसले इरानमा आर्थिक संकटसँगै सामाजिक र राजनीतिक तनावसमेत कायम रहेको देखाएको छ ।
