भर्खरै : Sorry, your browser does not support inline SVG.

मन्त्री कुलमान घिसिङद्वारा काभ्रेको रोशी क्षेत्रमा बाढी-पहिरो क्षति निरीक्षण, पुनर्निर्माणलाई प्राथमिकता

मन्त्री कुलमान घिसिङद्वारा काभ्रेको रोशी क्षेत्रमा बाढी-पहिरो क्षति निरीक्षण, पुनर्निर्माणलाई प्राथमिकता

काठमाडाैं, १२ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले गत वर्षको अविरल वर्षासँगै आएको बाढी – पहिरोले व्यापक क्षति पुर्‍याएको काभ्रेपलान्चोकको रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न वडाको स्थलगत निरीक्षण गरेका छन् ।

सडक, पुल, खानेपानी प्रणाली र स्वास्थ्य चौकीमा ठूलो क्षति पुगेको तर अझै पुनर्निर्माण नहुँदा स्थानीयले गुनासो गर्दै आएका थिए । सोही गुनासोपछि मन्त्री घिसिङ सडक विभागका महानिर्देशक, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक तथा सिँचाइ डिभिजनका प्रमुखसहित निरीक्षणमा पुगेका हुन् । निरीक्षणपछि मन्त्री घिसिङले रोशी नदीले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा राखेर तत्काल कार्य अघि बढाइने बताए । उनले आगामी चुनावपछि आवश्यक बजेट विनियोजनमार्फत पुनर्निर्माण प्रक्रिया छिटो पूरा गरिने आश्वासन दिए ।

गत वर्षकाे असाेव १०, ११ र १२ गतेको वर्षातका कारण रोशी गाउँपालिका-१, २, ३ र नमोबुद्ध–८, ९ क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पुगेको थियो । खानीखोला जोड्ने फलामे साँघु नजिकको सडक समेत सुरक्षित नभएकाले नदी किनार संरक्षण नगरे पुल जोखिममा पर्ने अवस्था देखिएको छ ।

बाढीले झोलुङ्गे पुल र दश शय्याको आधारभूत अस्पतालसमेत बगाएको स्थानीयहरूले बताएका छन् । नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले संघीय र प्रदेश सरकारले पुनर्निर्माणका लागि बजेट अभाव नहुने भनिए पनि काम भने अझै अघि नबढेको बताए ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.