भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू नासिएका स्थानीयले बताएका छन् ।

स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरु गाउँगाउँमा मोटरबाटो र विकास पूर्वाधारहरु निर्माण गर्ने क्रममा नासिएका स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । “विसं २०५० सम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्”, उनले भने, “खानेपानीको सङ्कट बढ्दै गएको छ तर सयौँ वर्षपहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो ।”

बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ । यहाँ पर्यटन प्रवर्धनका लागि मोटरबाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायतका प्राचीन सम्पदा भने नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ । ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ । अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन् । पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ ।

बेनी नगरपालिका—२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउछन्। कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुङ्गेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उहाँले चिन्ता व्यक्त गरे । रासस

 

 


Thali Mobile Pvt.Ltd.