भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

ललितपुरले उपत्यकामा पहिलोपटक ‘अर्ली वार्निङ’ प्रणाली जडान, बाढी जोखिममा अब समयमै चेतावनी

ललितपुरले उपत्यकामा पहिलोपटक ‘अर्ली वार्निङ’ प्रणाली जडान, बाढी जोखिममा अब समयमै चेतावनी

ललितपुर, ८ भाद्र । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन ‘अर्ली वार्निङ’ प्रणाली जडान गरेको छ । उपत्यकामा यस्तो प्रणाली प्रयोग गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह बनेको छ ।

महानगरले हाल वडा नं. २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं. ४ नख्खु खोलामा यो प्रणाली जडान गरेको हो । बाढीको जोखिम बढेपछि प्रणालीमार्फत घण्टी बज्ने व्यवस्था गरिएको छ । करिब दुई किलोमिटर टाढासम्म यसको आवाज पुग्ने भएकाले वरपरका वडामा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन सजिलो हुने बताइएको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनका अनुसार, “यी दुईवटा नदी वरपरका अन्य वडाहरूलाई सचेत गराउन यो प्रणाली उपयोगी हुनेछ । आवश्यक भए अन्य स्थानमा पनि जडान गर्ने योजना छ ।” महानगरले विपद् व्यवस्थापनका लागि आवश्यक सबै संयन्त्र एउटै छानामुनि व्यवस्थापन गरेको छ ।

पुलचोकस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुङ्गा, एम्बुलेन्सलगायतका साधन उपलब्ध छन् । महर्जनका अनुसार, अन्तर्राष्ट्रिय अभ्यासअनुसार विपद्को समयमा जनशक्ति र उद्धार सामग्रीसँगै एम्बुलेन्स पनि तुरुन्तै पुग्ने व्यवस्था गरिएको छ ।

गत वर्ष असोजमा आएको बाढीका बेला डुङ्गाको अभाव भएकाले महानगरले केही महिना अघि उद्धार प्रयोजनका लागि नयाँ डुङ्गा खरिद गरेको छ । हाल महानगरसँग साना–ठूला गरी ६ वटा दमकल पनि छन् ।

त्यसैगरी, महानगरले वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ भने प्रत्येक वडामा विपद् व्यवस्थापन र सचेतनाका लागि स्वयंसेवक समूह गठन गर्ने तयारी भइरहेको छ । महानगरको भनाइमा, अर्ली वार्निङ प्रणाली जडान गर्नुको मुख्य उद्देश्य बाढीजस्ता प्राकृतिक विपद्बाट जनधनको क्षति न्यूनतम बनाउनु हो ।

 


Thali Mobile Pvt.Ltd.