भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने अवस्था आयोः ओजश्वी काफ्ले

कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने अवस्था आयोः ओजश्वी काफ्ले

कुनै समय थियो कानूनको शिक्षा भनेको पुरुषले मात्र लिनु पर्दछ भन्ने जस्तो । तर आज समय यसरी घुमिसकेको छ कि कानूनको शिक्षा छोरीले मात्र लिनु पर्ने हो कि भन्ने अवस्था आएको छ । आज जुनसुकै कानून अध्ययन गराउने संस्थाहरुमा अवलोकन गर्दा छात्रहरुको भन्दा छात्राहरुको संख्या गुणात्मक रुपमा नै वढी रहेको देखिन्छ ।

कानूनको शिक्षामा छोरीहरुको बढी सहभागिता हुनु भनेको जागरणको उदाहरण मान्न सकिन्छ । हिजो छोरीहरु भनेको अन्याय सहेर बस्ने पात्रको रुपमा लिने गरिन्थ्यो भने आज न्यायको लागि सशक्त आवाज उठाउने जिम्मेवार नागरिकको रुपमा चिनिन्छन् ।

महिलाहरु कानून शिक्षा प्रति आकर्षित हुनुमा एउटा मात्र कारण नभई धेरै कुराहरुले प्रभाव पारेको देखिन्छ । हिजोको दिनमा हुने गरेका लैंगिक विभेद अर्थात छोरा र छोरीमा हुने गरेको सामाजिक भेदभाव आज क्रमशः न्यून हुन गएको कारण छोरीले पनि चाहिन भने जे पनि गर्न सक्छिन भन्ने आत्माविश्वासले छोरीहरु कानून शिक्षा प्रति आकर्षित भएका छन ।

दोश्रो नेपाली चेलीहरुमा राजनीतिक चेतनाको विकास पनि हुदै गरेको छ । राजनीतिमा हुने गरेका विकृति विसंगतिलाई संङ्लो बनाई मुलुकलाई सभ्य र सुसंस्कृत बनाउने दृढता नेपाली छोरीहरुमा जागेको कारण उनीहरु कानूनको शिक्षा हासिल गरेर राजनीतिलाई संस्कारयुक्त बनाउने अठोटमा छन । यसकारण नेपाली चेलीहरुको कानून शिक्षामा आकर्षण बढिरहेको छ ।

अन्य विषय अध्ययन गरियो भने वाध्यताले विदेश जानु पर्ने अवस्था आउने र कानून अध्ययन गरियो भने स्वदेशमा नै बसेर मुलुक बनाउन सकिने भन्ने महत्वपूर्ण धारणाले पनि छोरीलाई कानून विशेष अध्ययन गर्नको लागि प्रेरित गरिरहेको छ ।

हुनत कयौं अवस्थामा देखासिखीले पनि कानून अध्ययनमा आकर्षित भएको देखिन्छ । कानून शिक्षा प्रति आकर्षणको अर्को पाटो सिनेमा पनि हुने गर्दछ । हामीले हिन्दी, अंग्रजी मात्र होइन नेपाली सिनेमा हेर्दा पनि अदालतको गरिमा, अदालतमा बहसको कला, न्यायाधीशको सक्रियता र शक्ति हेर्दा जो कोही आकर्षित हुने गर्दछन । म पनि कानून अध्ययन गरेर समाजमा यस्तै किसिमको नायकत्व भूमिका स्थापित गर्र्नेछु भन्ने भाव पलाएर कानून तर्फ आकर्षित भएको मान्छे हुँ । तर सिनेमाको पात्र र जीवनको यथार्थ पात्रको भूमिकामा निकै भिन्नता हुने गर्दछ । हामीले हेर्ने विदेशी फिल्मको त कुरा नगरौं कमसे कम नेपाली सिनामा बनाउनेहरुले नेपालमा अदालतको कार्यविधि अभ्यास कस्तो हुने गरेको छ भनेर सामान्य अध्ययन अनुसन्धान गरेर भए पनि वास्तविकता पस्कने प्रयास गर्नु पर्दथ्यो ।

नेपाली सिनेमा उत्पादकहरुले नेपालको अदालतको अध्ययन गर्नुको साटो विदेशी सिनेमाको नक्कल गरेर बहस गरेको देखाउनाले दर्शकहरु अझ हामी जस्ता युवा विद्यार्थीहरु धेरै झुक्किने गरेका छाैं। सिनेमाको पात्र र वास्तविक न्यायपालिकाको अवस्थामा निकै भिन्नता रहेको अध्ययन अवलोकनबाट स्पष्ट हुन्छ ।

काठमाण्डौ स्कूल अफ ल मा अध्ययन गर्ने विद्यार्थीहरुले क्लीनिकल कानूनी शिक्षा अध्ययन गर्न पाउँछन् । क्लीनिकल कानूनी अन्तर्गत विद्यार्थीहरुले विभिन्न स्थानहरुको अवलोकन गर्नु पर्ने हुन्छ । विद्यार्थीहरुले सडकमा बसेर ट्राफिक दाजु दिदीहरुले भोग्नु परेको समस्या अर्थात सवारी चालक र यात्रुहरुले गर्ने गरेका लापरवाहीपूर्ण व्यवहारहरुको स्थलगत अध्ययन गर्ने अवसर पाएका हुन्छन् ।
दुई चार दिन मात्र नमूना ट्राफिकको भूमिका निर्वाह गर्दा पनि हाम्रो सडक अनुशासन कतिसम्म लापरवाहीपूर्ण छ भन्ने अध्ययन गर्न सकिन्छ । विद्यार्थीहरुले कैदमा वसेर कैदी जीवन व्यतित गरिरहेका बन्दीहरुको जीवन अध्ययन गर्ने अवसर पाएका थियौं । हामीले थुनामा रहेका अभियुक्तहरुको कथा व्यथा कतिसम्म कारुणिक अवस्थाहरुको हुँदो रहेछ भन्ने अध्ययन गर्ने अवसर पाएका थियौं । विद्यार्थीको रुपमा हामीले नेपालका विभिन्न न्यायपालिकाहरुको अध्ययन गर्ने अवसर पनि पाएका थियौं ।

न्यायपालिकामा विभिन्न फाँटहरु हुने गर्दछन् । ती फाँटहरुबाट सेवाग्राहीहरुले विभिन्न काम लिनु पर्ने हुँदो रहेछ । त्यो काम लिनका लागि यति भद्रगोल स्थितिको सामना गर्नु पर्दोरहेछ कि त्यसको वर्णन गरेर साध्य नै छैन । एउटा फाइल खोज्नु प¥यो भने यतावाट उता, उताबाट यता गर्दागर्दै मानसिक तनाबको अवस्था सृजनाको कुरा गरेर साध्य छैन ।

स्वयं झगडिया र कानून व्यवसायीहरुले समेत यसविषयमा झण्झटिलो दुखेसो पोखे । आजको डिजिटल युगमा पनि न्यायालयमा उही पराम्परागत शैली, उपत्यकाको अवस्था त यस्तो छ भने दुरदराजमा कस्तो अवस्था होला भविष्यमा अध्ययन गर्ने अठोट लिएका छौं । भन्नुपर्दा, न्याय दिनुपर्ने संस्था आफैं न्यायको लागि पुकार गरिरहेको तथ्य अध्ययन गर्ने अवसर प्राप्त गरिरहेका थियौं ।

हामीले कानून व्यवसायी र झगडियाहरुको सम्वन्धको अध्ययन गर्ने अवसर पाइरहेका थियौं । हुनत हामीले गरेका अध्ययनहरु सुक्ष्म भने थिएनन् । सरसर्ती एउटा बाहिरी मानिसले जसरी अध्ययन अवलोकन गरिरहेका थिए त्यहि रुपमा हामीले अध्ययन गरिरहेका हुन्थ्यौं । तर हामीले सामान्य अध्ययन गरे पनि हाम्रो विश्लेषण सुक्ष्म हुने प्रयास गर्दथ्यो अर्थात हामी भोलि कानून व्यवसायी भएर न्यायको लागि अदालतमा गएर सशक्त वकालत गर्ने उद्देश्यका साथ अघि बढिरहेका थियौ ।

हामी न्यायको क्षेत्रमा सरकारी वकील वा कर्मचारी भएर न्याय सम्पादनमा मद्दत गर्ने अठोट बोकेर हिडिरहेका हुन्थ्यौं । हामी विदेशमा नगई स्वदेशमा नै बसेर न्याय क्षेत्रलाई पूर्ण स्वतन्त्र, समक्ष र निश्पक्ष बनाउने दृढ अठोटका साथ क्लीनिकल कानूनी शिक्षा हासिल गरिरहेका हुन्थ्यौं । यो अवस्थामा कयौं क्षेत्र आफैंमा बैराग लाग्दो थियो ।

अस्तव्यस्त थियो । न्यायालय आफैं न्याय खोजिरहेको वास्तविकताको अध्ययन हामीले गर्न पायौंं । यस्ता कमी कमजोरीहरुलाई आजका नवोदित महिला कानून व्यवसायीहरुले सुधार्ने छन् भन्ने कुरामा हामी ढुक्क भएर नै कानूनको शिक्षा लिन हामी छात्राहरुको ओइरो लागिरहेको छ ।
(ओजश्वी काफ्ले काठमाडाैं स्कूल अफ लमा विए एलएलवि अध्यनरत विद्यार्थी हुन)

 

 

 


Thali Mobile Pvt.Ltd.