काठमाडौँ, ३० कार्तिक । निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ । संविधान र कानुनमा भएको व्यवस्थाअनुसार निर्वाचन मिति घोषणा गर्ने विषयमा आवश्यक छलफल भइरहेको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनको वातावरण बनाउन तथा पूर्वतयारीका विषयमा छलफल गर्न मंसिर ४ गते राजनीतिक दलहरूलाई आयोगमा बोलाइएको छ ।
‘संविधान र कानुनअनुसार नै निर्वाचन मिति घोषणा हुन्छ । निर्वाचनको वातावरण तथा पूर्वतयारीका लागि मंसिर ४ गते राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छौँ,’ भट्टराईले सोमबार रातोपाटीसँग भन्नुभयो, ‘चैत महिनासम्म चुनाव गराउने गरी छलफल भइरहेको छ । राजनीतिक दलहरूसँग छलफलपछि एउटा निष्कर्षमा पुग्छौँ ।’
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि गर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ । राजनीतिक दलहरूसँगको छलफलपछि निर्वाचनको मिति र तयारीबारे थप स्पष्ट हुने आयोगको भनाइ छ ।
