भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँचवर्षसम्म बनेन

मुख्य बुँदा

मादीसेती नदीमाथिको मोटरेबल पुल पाँच वर्षमा पनि सम्पन्न भएन

तीन वर्षमा सक्ने लक्ष्य भए पनि हालसम्म ६५ प्रतिशत मात्र प्रगति

रु ३२ करोडभन्दा बढी लागतको आयोजना

ठेकेदारको ढिलासुस्तीका कारण तीन पटक म्याद थप

२०८२ चैत मसान्तसम्म काम सक्ने नयाँ समयसीमा

तनहुँ, ९ पुष । पाँचवर्ष बितिसक्दा पनि व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने मादीसेती नदीमाथिको मोटरेबल पुल निर्माण पूरा हुनसकेको छैन ।

गण्डकी प्रदेशको महत्त्वपूर्ण मानिएको यस पुल समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्न बाध्य छन् । पुल निर्माणको समय लम्बिँदा आयोजनाको लागत बढ्दै गएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर रवीन्द्रप्रताप तिवारीले निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको जानकारी दिए ।

उनका अनुसार पुलको ‘स्टिल पाट्र्स’ फेब्रिकेसनको काम सकिएको र दुईवटा ‘स्पान’मध्ये एउटा यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । “बाँकी कामका लागि आवश्यक सामग्री भारतबाट आइसकेको छ ।

हामीले निर्माण कम्पनीलाई २०८२ साल चैत मसान्तसम्ममा काम सक्न निर्देशन दिइसकिएको छ”, उनले भने, “व्यास र ऋषिङलाई जोड्ने यस पुल हाम्रो समृद्धिको आधार हो । तर पाँच वर्षसम्म पनि अलपत्र हुनु अत्यन्तै दुःखद् पक्ष हो । विकासका काममा हुने यस्तो ढिलासुस्तीले गरिनुहुँदैन ।”

गण्डकी प्रदेश सरकारले रु ३२ करोड ४० लाख २७ हजार १९४ को लागतमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । हालसम्म ६५ प्रतिशतमात्र पुलको भौतिक प्रगति भएको छ । निर्माण भइरहेको पुल १५५ मिटर लामो र ‘स्टिल ट्रस’ प्रकृतिको हुनेछ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७७ साल चैत २३ गते शिलान्यास गरिएको भए पनि ठेकेदारको ढिलासुस्ती र विभिन्न बहानामा हालसम्म तीनपटक म्याद थप भइसकेको छ । व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै जिल्लाको ग्रामीण मानिएको दक्षिण भेगबाट आवतजावत गर्ने मुख्य पुल हो ।

पाइल फाउन्डेसनमा आधारित यस पुल ९.५ मिटर चौडा हुनेछ । पछिल्लो समय कार्यालयले कामलाई तीव्रता दिन दबाब दिएपछि निर्माणस्थलमा केही चहलपहल बढेको छ ।

यद्यपि पटकपटक म्याद थपिने तर काम नहुने प्रवृत्तिले गर्दा तोकिएको नयाँ समयसीमाभित्र पुल सञ्चालनमा आउनेमा स्थानीय अझै चिन्तित बनेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.