काठमाडौं । उच्च घरानियाँको आवरणमा सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आइरहेको शंकर गु्रपमाथि सरकारका तीनवटा निकायले एकैपटक छानबिन थालेको छ । शंकर ग्रुपका कम्पनीले राजस्व छली गरेको, गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको र कालोबजारी गरेको भन्दै सरकारका तीन नियामक निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र गुणस्तर तथा नापतौल विभागले छानबिन र कारबाहीलाई एकैपटक अघि बढाएको हो ।
–सरकारका तीन निकायको एकैपटक छानबिन
–अकुत सम्पति खोजिँदै
–कालोबजारी धन्दाउस्तै
–एकपछि अर्को फ्रड धन्दा
–सबै सञ्चालकलाई बयानमा बोलाइने
शंकर ग्रुपका विभिन्न कम्पनीले राजस्व छली गरेको पाइएपछि राजस्व अनुसन्धान विभागले ती कम्पनीमाथि छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपका केही कम्पनीमाथि छानबिन थाल्दा राजस्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागमार्फत छानबिनलाई अघि बढाइएको जनाएको छ ।
शंकर ग्रु्पद्वारा उत्पादित जगदम्बा ब्रान्डका डन्डी गुणस्तरहीन भएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिलद्वारा उत्पादित १६ एमएमको टीएमटी वान फलामे डन्डी बिक्री वितरणमा पूर्णतः रोक लगाएको छ । शंकर ग्रुपले बजारमा पठाएको करोडांै मूल्यबराबरको सो डन्डी फिर्ता गरी नष्ट गर्नसमेत विभागले निर्देशन दिइसकेको छ ।
यसैगरी विभिन्न उत्पादमा कालोबजारी गरी सर्वसाधारणलाई ठगी गर्दै अकुत सम्पति कमाएको पाइएपछि सम्पति शुद्धीकरण अनुसन्धान विभागले पनि ग्रुप सम्बद्ध विभिन्न कम्पनीको कागजबारेमा गम्भीर छानबिन थालेको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतका अनुसार ग्रुप सम्बद्ध कम्पनीले एकपछि अर्को फ्रड धन्दा सञ्चालन गरेको पाइएको छ । कोरोना महामारीको समयमा बजारमा थर्मल गनको कालोबजारी गर्दा गर्दै पक्राउ परेका कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई सम्पति शुद्धीकरण अनुसन्धान विभागले समेत केही समय नियन्त्रणमा लिएर छोडेको थियो ।
अदालतको धरौटीमा रिहा भएका उनीमाथिको मुद्दा विचाराधीन अवस्थामा नै छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराईले आफूहरूले शंकर ग्रुपुका कम्पनीको कालोबजारीबाट आर्जन गरेको सम्पतिबारे छानबिन गरिरहँदा अर्को ठगी काण्ड पुष्टि हुनुले आफूहरूलाई अझै गम्भीर बनाएको बताए । राजधानी दैनिकबाट
