DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओली–देउवा कार्यकालको दाग, आफ्ना नागरिकलाई हाकाहाकी नक्कली भुटानी शरणार्थी बनाउने ?


  • जेष्ठ ५, २०८०
  • 206 Views
ओली–देउवा कार्यकालको दाग, आफ्ना नागरिकलाई हाकाहाकी नक्कली भुटानी शरणार्थी बनाउने ? image

खुफिया, सुराकी, अनुसन्धान, निगरानी र अनेक नाममा करोडौं रुपैयाँ छर्दै आएको गृह प्रशासन नक्कली भुटानी शरणार्थी काण्डमा कहाँ थियो यतिका वर्ष ? हाम्रो राज्य–संयन्त्र यति पंगु भैसकेको छ कि आफ्नो काखमा को, किन र कसरी बसिरहेको छ भन्ने सुइँको पनि पाउँदैन ?

आफ्ना नागरिकलाई हाकाहाकी नक्कली भुटानी शरणार्थी बनाउने भगीरथ प्रयत्नका कारण यतिखेर एमाले–कांग्रेस दुइटै पार्टीका नेता धमाधम पक्राउ पर्न थालेका छन् । माओवादी पानीमाथिको ओभानोझैं हावामा मुड्की बजार्दै रमाइरहेको छ ।

नयाँ भनिएको पुरातनवादी राप्रपाले नक्कली शरणार्थी प्रकरण बाहिर आउनु र छानबिन सुरु हुनुमा विदेशी शक्तिको ‘हातखुट्टा’ देखिरहेको छ । अझै नयाँ भनिएको रास्वपा ‘शरणार्थी गिरोहको छानबिन मैले गराएको हो’ भन्दै खुट्टी हेर्दै चाल पाइयो कथा सम्झाइरहेको छ ।

जता हेर्‍यो, रमिता छ ।अर्कातिर, आफूलाई ब्रह्मज्ञानी भन्ठान्ने अभियन्ताहरू ‘अमेरिकाले दबाब दिएको र अमेरिकी प्रभाव–पहुँचकै कारण नक्कली शरणार्थी प्रकरण बाहिर आएको’ हुँकार गरिरहेका छन् ।

ओहो, यत्रो ‘भोजन उत्सव’ मा हामी भने किन पछि पर्‍यौं भनेर गम खाँदै बस्ने टुटेफुटे राजनीतिक दलहरू पनि यतैकतै छन् १ आश्चर्य छ— यो अपरम्पार ठगी, तस्करी, ओसारपसार, बेचबिखन र यसैको सञ्जाल यसरी जेलिएको छ, तैपनि हाम्रा राजनीतिक दलहरू र तिनका नेताहरूले बिचौलिया राज्य–संयन्त्रमाथि प्रश्न गर्न सकिरहेका छैनन् ।

धेरैले आ–आफ्नै डम्फु बजाइरहेका छन्— नक्कली शरणार्थीको जन्म ओलीका पालामा भएको हो । होइन, देउवाका पालामा यो नक्कली गिरोहलाई मलजल गरिएको हो । होइन–होइन, गृहमन्त्री ९बादल र खाँड० र सचिवहरू ९राई, पाण्डे, न्यौपाने० को ‘अनदेखा’ ले यो स्थिति ल्याएको हो ।

अहिले त गिरोहका नाइकेलाई मलजल गर्नेमा खाँड, रायमाझी, शेर्पा, पाण्डे र अरू नाम जोडिइसकेका छन् । तर, अझै बाँकी छ— यो गिरोहको ‘नक्साल सेरेमोनियल सुइट अफिस’ चलाउने वरिष्ठतम राजनेताका छोरा–नातिको हुलिया खुल्न, जहाँ गृह मन्त्रालयका सादा पोसाकधारी सुरक्षाकर्मीहरूको रेखदेख रहने गर्थ्यो, नित्य–निरन्तर ।

यसरी केन्द्रमा अनेक कोणबाट बहस चलिरहेका सयौं सर्वसाधारणको उठीबास लागिसकेका झापा, मोरङ, दाङ, कास्की, म्याग्दीका गाउँघरका दृश्य भने भयावह देखिन्छन् । मोरङको पथरी–शनिश्चरे–१० का कतिपय घरमा ताला लागेको छ । दाङका दर्जनौं पीडित अहिले पनि काठमाडौंको गौशाला आसपास कष्टसाध्य दैनिकी गुजारेर बसेका छन् ।

झापामा दमक र मोरङमा पथरीका शरणार्थी शिविरमा पुग्दा शिविरभित्रै पनि त्रसित–भयभीत चेहराहरू भेटिन्छन् जसबाट अनेक बहानामा गिरोहले पैसा उठाइसकेको छ । अझ शिविरवरपरका गाउँबस्तीमा ‘शरणार्थी पीडित’ को ट्याग बोक्नेहरू उत्तिकै छन् जसबाट पनि उसै गरी अमेरिका उडाइने भन्दै पैसा उठाइएको छ । त्यहाँसम्म अहिलेको खोज–अनुसन्धान पुगेकै छैन, पुग्न सकेकै छैन ।

कान्तिपुर दैनिकबाट…

४२९ र ८७५
थाती रहेको भुटानी शरणार्थी समस्या समाधान हेतु २०७६ कात्तिकमा तयार भएको गृह मन्त्रालयको प्रतिवेदनभित्र यत्रो राइँदाइँ गरिएको रहेछ भन्ने त्यस बेला थाहा भयो, जब काँकरभिट्टाको मेचीपुलमा दशगजापारिबाट आएका एक नेपालीभाषीले एउटा ढड्डु प्रतिवेदन हातमा थमाए ।

सिलिगुडी बस्ने ती चिनारु पनि २०७८ को दसैंछेक इटहरीको गोकुलम रिसोर्टसम्म आएका रहेछन्, अमेरिका जाने बाटो खोज्दै । ‘बात निकलेगी तो फिर दूर तलक जाएगी’ भन्दै दिएका थिए ती चिनारुले, पन्थी कार्यदलको प्रतिवेदन । दुई महिनाअघिको त्यो भेटघाटपछि लगत्तै प्रतिवेदन कार्यदलका संयोजक बालकृष्ण पन्थीसँग भेटवार्ता भयो कीर्तिपुरको ट्याङ्लाफाँटमा ।

अनि प्रतिवेदनको सक्कली र नक्कली रूप देखियो— देखाउने र चपाउने गृह प्रतिवेदन । मेचीपुलमा फेला परेको प्रतिवेदनमा दुई अनुसूची थपिएका थिए जहाँ ८७५ जना अमुक व्यक्ति अमेरिका जाने सूचीमा थिए । त्यही नामावली बमोजिम बनेको नक्कली शरणार्थी परिचयपत्र आफ्नो भित्री पकेटमा राख्दै २ लाखबाट ५ लाख, ५ लाखबाट १० लाख हुँदै ५० लाख रुपैयाँसम्म बुझाएर घर न घाटको हाल बेहोर्नेहरू यत्रतत्र भेटिन थाले ।

अलिक मास्तिर बेलडाँगीको शिविर पुग्दा अघि भनिएकै प्रतिवेदनभित्रका ४२९ जना पूर्वप्रमाणित शरणार्थीको नामसूची अघि सारेर बसेकाहरू पनि भेटिए । छुट दर्ताका नाममा, शरणागत हुन चाहनेका नाममा अमेरिका ताकेर बस्नेहरू असंख्य देखिन थाले । अझ कतिसम्म भने, ८७५ र ४२९ दुवै थरीका निम्ति अमेरिकी उडान भर्नुपर्ने भएकाले दुवैलाई गिरोहले गिजोलेर द्वितर्फी रकम असुलिएको पनि पाइयो ।

२०७५ माघदेखि सुरु भएको यो चलखेल २०७९ फागुनसम्म उत्तिकै गतिशील रहेको पाइयो । अनि केही बैंक स्टेटमेन्टहरू आउन थाले । कसैको बाउन्स्ड–चेक, कसैको पहाडे कागजमा लेखिएको औंठा छापसहितको लिखत । कसैको गोकुलम इटहरी को अमेरिकी सपनाको लाममा उभिएको तस्बिर, कसैको काठमाडौंको नक्साल साइटको मौखिक विवरण ।

काठमाडौंमा इन्टरनेसनल क्लबदेखि रिसोर्ट भण्डारखालसम्म । उर्लाबारीको सिंघम होटल ९अहिले ग्रान्ड० देखि भेडेटार ९नाम्जे० को चिसो खाने अड्डासम्म । हेलीमा गोसाइँकुण्ड सफरदेखि दक्षिणकालीमा कालो बोको काटेर ‘प्रसाद’ खानेहरूसम्म ।

त्यसपछि त आफूलाई सुरुमा पीडित र पछि गएर पीडकसमेत भन्दै भेट्न आउनेहरू पनि निस्किए । मिटरब्याजीको सास्ती बेहोर्नेहरूको माइतीघर मण्डलामा धर्ना चलिरहेका बेला अमेरिकी सपनाधारीहरूको अर्कै कन्तबिजोग बाहिरिन थालेको थियो, मिटरब्याज प्रकरणलाई माथ गर्ने गरी ।सम्बन्धमा ‘दुबोको माला’

१ हजारभन्दा बढी नेपाली ९र, केही भारतीयसमेत० लाई नक्कली भुटानी शरणार्थी बनाइएको समाचार बाहिर आउन थालेपछि नेपाली प्राज्ञिक–बौद्धिक र कूटनीतिक वृत्तमा छाएको चिन्ता हो— ओहो, हामीलाई अन्तर्राष्ट्रिय जगत्ले अब कसरी हेर्ला  ?

यसरी चिन्ता जाहेर गर्नेमा प्रमुख राजनीतिक दलहरूका प्रमुख नेताहरू र मामिलाविद् भनेर आफूलाई चिनाउनेहरू पनि छन् । यथार्थतः यो दोस्रो कित्ताको चासो मात्रै हो । सबैभन्दा बढी चासो त हाम्रो राजनीतिक, प्रशासनिक र राज्य संयन्त्रलाई हुनुपर्ने हो ।

पक्राउ पुर्जी जारी गरेर प्रमाण–बयानपछिको अनुसन्धानमा परिसकेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई निलम्बन गर्नुको साटो ‘उहाँले सफाइ पाउनुहुन्छ’ भन्दै मुलुककै जेठोबाठो पार्टी नेपाली कांग्रेस बेसरम काइदामा अघि बढिरहेकै छ । पार्टीका प्रवक्तासमेत रहेका मन्त्री प्रकाशशरण महतले शरणार्थी गिरोहको मामिलालाई ‘मिडिया ट्रायल’ भन्दै भैरहेको अर्बौंको संगठित ठगीलाई ठाडै नकारिसकेका छन् ।

राज्य, सत्ता र गुटको अझै पनि ‘मोहरा’ बनिराख्ने सधैंको हैसियत डा। महतले फेरि देखाएका छन् । बरु एमालेले आफ्ना सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिसक्यो ।

यत्रो सरमलाग्दो गतिविधि आफैंले गरेपछि अन्तर्राष्ट्रिय समुदायले अब के भन्ला नि भनेर दूरदर्शी चिन्ता राख्न सक्ने तर आफ्नै पार्टी, आफ्नै नेता र ‘राजनेता’ लाई प्रश्न गर्न नसक्ने सधैंको नियतिकै कारण गिरोहधारी दुलाल–भण्डारीहरू सफल बनेका हुन् ।

यही कारण इन्द्रजित र आङ्टावाहरू खुलेर गिरोहका मतियार बन्न सकेका हुन् । यही कारण युगान्तकारी परिवर्तन र छलाङको गफ गर्ने तिनै बाबुका छोराहरू आज ‘फरार’ देखिएका हुन् ।

यो मन्थन चलिरहँदा इमेलमा फेरि फुत्त एउटा फोटो देखियो । अमुक पात्रले पठाएको तस्बिरमा सबै चिनिने अनुहारहरू थिए । नेपाली कांग्रेसका हस्तीहरू शशांक, शेखर र सुजाता कोइरालाहरूको तिहार उत्सवको पारिवारिक रमाइलोमाझ उसै गरी सयपत्री माला पहिरेका र भर्खरै ‘दिज्यू’ का हातबाट टीका थापेका भाइ केशव दुलाल मदमस्त देखिएका छन् ।

अर्को दिन अर्को तस्बिर खस्यो मेलमा, जहाँ अर्का विद्वान् नेता मीनेन्द्र रिजाल र गुरुराज घिमिरे उनै दुलाललाई आफूबीच राखेर गफपान–चियापानमा भुलिरहेका छन् । अर्को दिन सांसद राजीव शाहका आडैमा बसेका छन् उनै दुलाल ।

टोपबहादुरलाई हेली सवारीमा लैजान उभिएकाको लाममा पनि उनै दुलाल–भण्डारीहरू भेटिन्छन् । अर्को बिजुलीपत्रमा गिरोहका योजनाकार इन्द्रजितपुत्र नीरज सुदन किराँतीदेखि राजेन्द्र लिङ्देनसँग सम्म लिसोझैं टाँसिएर सेल्फी लिइरहेका भेटिन्छन् ।

यसो भन्दैमा ‘कहीँ कतै कसैले यसरी तस्बिर लिनै नहुने, जोडिनै नमिल्ने हो र’ भन्ने प्रश्न आउन सक्छ । मिल्छ तर कसैले अनाहकमा हेलिकप्टर चढाएर गोसाइँकुण्ड लगिरहेको छ, नातासाइनोमा नपर्ने कोही सेलरोटी–दूबो बोक्दै शक्तिसम्पन्न ‘दिज्यू’ कहाँ भाइटीका लगाउन धाइरहेको छ वा हिमालय होटलमा पालो मिलाउँदै ककटेल डिनरमा लगिरहेको छ भने चनाखो त हुनैपर्छ ।

यो त पूर्वगृहमन्त्री खाँडले ‘तपाईं डेढ वर्षसम्म गृहमन्त्री छँदा नेपालीलाई शरणार्थी बनाउने गिरोहको खेलकुदबारे थाहै पाउनुभएन रु’ भनेर राखिएको जिज्ञासामा ‘अहँ, थाहा भएन त’ भनेर जवाफ फर्काएजस्तै मात्रै हो— निर्लज्जता र गैरजिम्मेवारी ।

राजनीतिको गाडी आफूले जेजसरी निर्लज्ज काइदामा चलाएर आइयो, उसै गरी ‘राष्ट्रदोह’ मानिएको यो गम्भीर सवाल पनि सजिलै पन्छिएर जाने अहं र भ्रममा अझै पनि ‘राजनेता’ हरू छँदै छन् । प्रमाण नपुगेर, नखोजेर वा नियतवश खाँड र रायमाझीहरूले सफाइ पाइगए पनि सधैं भड्केको आत्मा लिएर हिँड्ने हैसियतमा यी नेताहरू पुग्नेछन्, पुग्नु पनि पर्छ ।

भाषणमा ‘कुरैले चिउरा भिजाउन सक्ने’ हैसियतका हाम्रा राजनीतिक दलहरू र मुख्य जिम्मेवार नेताहरू अझै पनि आफ्नो आङको जुम्रा देखिरहेका छैनन् । अहिलेसम्मको खोजबिनमा एउटै माओवादी नेता परेनन् भनेर माओवादी रमाइरहेको छ । यथार्थतः, अहिले हिरासतमा रहेका रायमाझी वा कामनामले चर्चामा रहेका बादल त्यही माओवादी स्कुलिङका गुरु हुन् । अब केही दिनमा कुनै यस्तै प्रभावशाली दुई–तीन माओवादी नेताका छोराका नाम गिरोहमा थपिएपछि यो दलको फुरफुर अलप हुनेछ ।

धन्य, अर्का प्रभावशाली नेता गगन थापाले भने मुख खोलेका रहेछन्, आफ्ना नेता खाँडका बारेमा । कांग्रेस महामन्त्रीसमेत रहेका थापाको बोली पार्टी बैठक र निर्णयसम्म पुग्न सक्यो भने यसको अर्थ रहला नत्र यो पनि उही ‘तातो पानी देऊ, नत्र चिसैले नुहाउँला’ मा गएर टुंगिनेछ ।

थापाले भनेका छन्, ‘जबसम्म अनुसन्धान हुन्छ, निलम्बन हुने कुरा स्वाभाविक हो र पार्टीका साथीहरूले त्यही अनुसार बुझ्नुपर्दछ । परम्पराका नाममा यसलाई अपव्याख्या गर्नेस सामान्यीकरण गर्ने र पार्टीको कुनै पनि तह, पद वा सांगठनिक संरचनालाई दुरुपयोग गरेर पक्षधरता लिने काम तत्काल रोकिनुपर्छ ।’

भयको नाम  राजनीति र नेता

झापाको दमकको साँधसीमा भएर बहन्छन्— रतुवा–चाँजु । यिनै नदीका तट, बगर र ऐलानी–कटान सबै भूभाग यतिखेर आफ्नै काइदाले गुलजार छन् । औद्योगिक पार्कका नाममा जे भैरहेको छ, यसले जुगजुगान्तरसम्म नेता केपी ओलीलाई सम्झाउनेछ ।

सम्झने कसरी भन्ने प्रश्नको उत्तर भने यस पाला फिल्डमा पुगेपछि भेटियो । जेजसरी राज्य संयन्त्रबाट यो बगररऐलानीको करोडौं रुपैयाँ मुआब्जा असुल्ने प्रपञ्च ओलीकै पालामा बनेको थियो, त्यसको पनि कुनै दिन सोधीखोजी हुनेछ नै । राज्यदोहन गर्नमा राजनीति, नेता र राज्यको साँठगाँठ के–कसरी भएको रहेछ भन्ने खुलासा आज नक्कली शरणार्थी प्रकरणको कर्तुत आएझैं कुनै दिन हुनेछ नै, ढिलोचाँडो ।

पार्कको झन्डै २ हजार बिघा ९दमकरगौरादह नगरपालिका, कमल गाउँपालिका० मध्ये ८ सय बिघाजतिको मुआब्जा स्थानीय राजनीतिक आसेपासेले कसरी उठाएका रहेछन् भन्ने सरोकार एक दिन सोधखोजमा आउनेछ नै । अझ यो औद्योगिक पार्कको यस्तै कन्तबिजोग रहिरहेमा हिजो राज्यबाट असुलिएको मनपर्दी मुआब्जाको सत्यतथ्य छिट्टै अनुसन्धानमा जाने निश्चित छ ।

यही बेला, ओलीको आफ्नो राजनीतिक पकेट क्षेत्रका पकेट नेता एवं पूर्वमेयर रोम ओलीका छोरा अनिलसमेत मानव तस्करीको यस्तै गिरोहमा जोडिएपछि ‘फरार’ रहेछन् । ‘माथि बा ओली र उहाँका सहयोगी–सल्लाहकारको नाम जोडेरै पैसा उठाइएको थियो, गतिलो राजनीतिक लिंकका कारण सबै काम भैहाल्छ भनिएको थियो,’ दमक बजारमा भेटिएका ओलीपीडित भन्न थालेका छन् ।

हो, संरक्षणको सिलसिला यहाँ पनि जोडिन्छ । राजनेता ओलीले कि भन्न सक्नुपर्‍यो, ‘पूर्वमेयर ओली र उनका छोराको गतिविधिमा मेरो सरोकार छैन ।’ कि, एमाले दलसँग झापाली ओली–ट्रेन्डिङको साइनो छैन भन्न सक्नुपर्छ ।

यसो भएन भने आफैंले थपनासरह बनाएका पूर्वमेयर ओली र उनको सेरोफेरोमा भैरहेको ठगी गिरोहमा ‘जेठाबाठा सम्मानित ओली’ पनि सम्बद्ध रहेको सदर हुनेछ । काठमाडौं केन्द्रदेखि स्थानीय तहसम्म हरेक गिरोह र ‘नेक्सस’ मा देखिएको भ्रम एउटै छ— यो देश भनेकै हामी हौं, नेता भनेकै हाम्रा हुन् । बा भनेका मेरा हुन् । भाउजू र काकाहरू मेरै हुन् । साढु, सालो र बुहारी झनै साक्खे हुन् ।

भावुक राष्ट्रवाद र ‘बहाना’

हिजो कांग्रेस नेत्री आरजु राणाले पश्चिमको एउटा चुनावी सभामा गएर बोलिदिइन्, ‘हामीलाई जिताउनुस्, हामी बिनापैसा मलेसिया कोटामा रोजगारीमा पठाइदिन्छौं ।’

अर्का कम्युनिस्ट नेता माधव नेपालले रौतहट पुगेर भने, ‘बिनाढेउवा के

जनमोर्चा नामको पार्टी आज अमेरिकी साम्राज्यवादविरुद्धको आन्दोलनमा मैदानमा उत्रिएको छ भने राप्रपा नामको दल अमेरिकी दबाबमा नक्कली शरणार्थी प्रकरणमाथि अनुसन्धान सुरु गरिएको भन्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवा मानौं मुलुकमा केही भएकै छैन र आफ्नै नेता–प्रशासकहरू कहीँकतै जोडिएकै छैनन् झैं गरेर कुनै खोपीमा बसिरहेका छन् ।

सरकारको हविगत के छ भने, पहिलो औपचारिक भ्रमणमा भारत पाइला नटेकेमा ‘झलनाथ पो होइन्छ कि’ भन्ने अनौठो भय प्रधानमन्त्री पुष्पकमल दाहालमा छाएको देखिन्छ । तर होड भने कालीगण्डकीको ढुंगा ओसार्ने तहमा सीमित छ । त्यो ढुङ्गा पनि काँधमा बोकेरै जाने कि ठेलागाडामा लैजाने भन्ने खालको होड १ नेपालको नयाँ राजनीतिक नक्सा त परै जाओस्, अब त सुस्ताको कुरा पनि नेताहरूले भुलिसके ।

सबै कामकुरा तदर्थमा चलेको स्पष्टै छ । भाषणमा भने फेरि पनि उही चिउरा भिजाउने गफ यथावत् छ । आफ्नै नागरिकलाई शरणार्थी बनाउने तहको आपराधिक कर्म राज्यद्रोह मात्रै होइन, पुस्तौंपुस्तालाई सुनाउन र देखाउन मिल्ने ओली–देउवा कालखण्डको धब्बा हो भनेर अब जनसाधारणले बुझिसकेका छन् । यसमा पनि विगतमा झैं फेरि कुनै ‘गोरे’ खडा गरेर दण्डसजायको श्राद्धतर्पण गरिएमा यो दाहाल कालखण्डका निम्ति कालान्तरसम्म तर्साइरहने अर्को भड्काउ आत्मा हुनेछ ।

बरु गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेसम्म देखाएको आँट र अठोटलाई थप निष्कर्षमा पुर्‍याउन ‘मन्त्रालयभित्रको गोप्य प्रतिवेदन कसले र कसरी बाहिर ल्यायो रु एक वर्षअघि नै उजुरी र पक्राउमा परिसकेका गिरोह नाइकेलाई कसले रातारात भगायो रु’ भन्नेसम्मका अर्थपूर्ण चासोमा अनुसन्धान गर्न सक्नुपर्छ । यो प्रकरणमा सबैभन्दा बढी पत्रु र निकम्मा कोही देखिएको छ भने गृह मन्त्रालयको संयन्त्र देखिएको छ, अब त्यसमा भूलसुधारसहित आडभरोसा जगाउने गरीको काम गृहमन्त्रीबाट हुनुपर्छ ।

राज्य संयन्त्रमा यत्रो खेलबाड भैरहेको पत्तै नपाउने राजनेताहरूबाट हामी शासित छौं । हाम्रा राजनेताहरू मञ्चमा उत्रिएर मन्तव्य राखिरहेछन्, लाजै लाग्ने गरी । जस्तो, कवि मीनबहादुर विष्टले ‘नयाँ युगमा प्रवेश गरेको देश’ शीर्षक कवितामा लेखेका छन्—

देश बोकेर हिँडिरहेकाहरूले भनिरहेछन्,

तिनका सल्लाहकारहरूले भनिरहेछन्,

जानिफकारहरूले भनिरहेछन्,

इन्टेलिजेन्स सम्हालेकाहरूले भनिरहेछन्,

बजेट बनाइरहेकाहरूले भनिरहेछन्,

देश दौडाहामा निस्केकाहरूले भनिरहेछन्,

ठेकेदारहरूले भनिरहेछन्,

हल्लाखोरहरूले भनिरहेछन्,

नयाँ युगमा प्रवेश गरेको छ यो देश

र, म खोजिरहेछु—

नयाँ युगमा प्रवेश गरेको त्यो देश ।

 


Thali Mobile Pvt.Ltd.