काठमाण्डाैं । चालू आर्थिक वर्ष ०७७-०७८ को सात महिनामा १ हजार २ सय ३० वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्यमीले आफूले उत्पादन गरेका सामानलाई छुट्टै किसिमले परिचय दिनका लागि ट्रेडमार्क लिने गर्छन् । ट्रेडमार्क एउटा संकेत वा चिह्न हो, जसले प्रतिष्पर्धी बजारमा उद्योगीका हरेक उत्पादनलाई फरकफरक रूपमा बजारीकरण गर्न सहज बनाउँछ । ट्रेडमार्क उत्पादित वस्तुमाथि उत्पादकको कानुनी हक र अधिकार हो ।
उद्योग विभागका अनुसार हालसम्म ५१ हजार ८ सय ८१ वटा ट्रेडमार्क दर्ता भएका छन् । औसतमा दुईदेखि तीन हजारको हाराहारीमा वार्षिक ट्रेडमार्क थप हुँदै गएका छन् । माघ महिनामा मात्रै २ सय ४३ वटा ट्रेडमार्क दर्ता भएका छन् । उद्योग विभागका महानिर्देशक जीवलाल भुसालका अनुसार प्रतिस्पर्धी बजारमा आफ्ना उत्पादनहरूलाई चिनाउन, बजारीकरण गर्न र नक्कल गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पनि ट्रेडमार्क आवश्यक छ ।
सचेत उद्यमीले आफूले उत्पादन गरेका उत्पादनको ट्रेडमार्क लिन ढिलाइ गर्न नहुने उनको अनुभव छ । अन्य मुलुकमा पेटेन्ट तथा डिजाइनलाई जति महत्व दिइन्छ, नेपालमा भने त्यति महत्व दिएको पाइँदैन । आफ्नो घर–जग्गाको हक अधिकार सुरक्षाका लागि जसरी धनीपुर्जा बनाइन्छ, त्यसरी नै आफूले आविष्कार गरेको वस्तु, प्रविधि वा डिजाइन लगायतको हक अधिकार सुनिश्चित गर्नका लागि पेटेन्ट दर्ता गर्नुपर्ने महानिर्देशक भुसालको भनाइ छ ।
उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा स्वदेशी १ हजार २ सय ५६ र विदेशी १ हजार १७५ वटा गरी २ हजार ४३१ वटा ट्रेडमार्क दर्ता भएको थिए । ट्रेडमार्क लिनेमा उत्पादनमूलक उद्योगका उत्पादन, वस्तु धेरै छन् । उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छन् । एउटै व्यवसायमा पनि धेरै ब्रान्ड हुन सक्छन् । त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनका लागि ट्रेडमार्क बनाउने गर्छन् । व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार वा शब्द आदिलाई ट्रेडमार्क भन्ने गरिएको छ ।
यसले उस्तै किसिमको सामान उत्पादन गर्ने अर्को व्यवसायभन्दा फरक देखाउन मद्दत गर्छ । ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न भने मिल्दैन । पेटेण्ट, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रत्येक ७ वर्षमा नवीकरण गरिरहनुपर्छ । यदि नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ ।
ट्रेडमार्कका लागि पनि दर्ता गर्नका लागि सुरुमा निवेदन लेख्नु पर्ने हुन्छ त्यसका लागि एक सय रुपैयाँ तिर्नुपर्छ । निवेदन बुझाइसकेपछि नियमअनुसार सही छ कि छैन जाँचबुझ हुन्छ । यदि सबै कुरामा ठीक भएमा मात्र दर्ता गरेको प्रमाणपत्र पाइन्छ । दर्ता गर्नका लागि भने चार सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाखसम्मको जरिवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसँंग सम्बन्धित सबै कुराहरू सरकारले जफत गर्ने कानुनी प्रावधान छ । ट्रेडमार्क बनाउने नाम, चिह्न वा आकार पहिले नै अरू कसैले दर्ता गरेको छ र उक्त नामसँंग मेल खायो भने दर्ता गर्न मिल्दैन ।
पछिल्लो समय निर्यात प्रवद्र्धनका लागि कलेक्टिभ ट्रेडमार्क लिने प्रचलन पनि बढेको देखिन्छ । नेपाल कफी, नेपाली लोक्ता, च्यांग्रा पस्मिना, नेपाल टी, नेपाली जुत्तालगायतले कलेक्टिभ ट्रेडमार्क पाइसकेको उद्योग विभागले जनाएको छ । सरकारले निर्यात प्रवद्र्धनका लागि प्राथमिकतामा राखेका वस्तुको बजारीकरण गर्न सघाउने भएपछि नेपाली व्यवसायीले सामूहिक व्यापार चिन्ह (कलेक्टिभ ट्रेडमार्क) लिन पहल थालेका हुन् । कलेक्टिभ ट्रेडमार्क सामूहिक व्यापार चिन्ह हो । यसलाई व्यवसायीले सामूहिक रूपमा प्रयोग गर्न सक्छन् । ट्रेडमार्कझैं एउटै कम्पनीमा अधिकार भने सीमित रहँदैन ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।
