भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना

स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना

काठमाडौँ, ३१ असार । नेपालभरका एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूले स्टाइपेन्ड (निर्वाह भत्ता) मा एकरूपता कायम गर्नुपर्ने माग गर्दै बुधबार चिकित्सा शिक्षा आयोगमा शान्तिपूर्ण धर्ना दिएका छन्।

सरकारले गठन गरेको कार्यदलले इन्टर्न चिकित्सकहरूको स्टाइपेन्डमा समान व्यवस्था लागू गर्न प्रतिवेदन तयार गरी आवश्यक सिफारिस गरिसकेको भए पनि हालसम्म त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरूले दबाबमूलक कार्यक्रम आयोजना गरेका हुन्।

एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियान नेपाल का संयोजक डिल्ली हरिजनका अनुसार आयोगबाट हालसम्म कुनै ठोस निर्णय वा कार्यान्वयन प्रक्रिया अघि नबढेकाले बाध्य भएर धर्ना दिनुपरेको हो।

यसैबीच, नेपाल चिकित्सक सङ्घले पनि इन्टर्न चिकित्सकहरूले उठाएका मागप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। बुधबार जारी विज्ञप्तिमा सङ्घले अत्यधिक कार्यबोझ र तनावबीच सेवा दिइरहेका इन्टर्न चिकित्सकहरूलाई उपलब्ध गराइने भत्तामा एकरूपता नहुनु र वैज्ञानिक आधारमा वितरण नगरिनु अन्यायपूर्ण भएको उल्लेख गरेको छ।

सङ्घका अनुसार सरकारले यसअघि नै अध्ययनका लागि कार्यदल गठन गरी प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसलाई औपचारिक निर्णयमार्फत कार्यान्वयनमा नल्याइनु दुःखद विषय हो।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडी ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा इन्टर्न चिकित्सकहरूले उठाएका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।

साथै, देशभरका मेडिकल कलेजमा अध्ययनरत इन्टर्न चिकित्सकहरूका लागि समान स्टाइपेन्ड व्यवस्था लागू गर्न र कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन सङ्घले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

 


Thali Mobile Pvt.Ltd.