भर्खरै : Sorry, your browser does not support inline SVG.

मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प

मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प

इलाम, २९ असार । निरन्तरको वर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको आवागमन ठप्प भएको छ। झापासँग जोड्ने दुवै वैकल्पिक सडकसमेत बन्द भएपछि यात्रु, स्थानीयवासी तथा व्यवसायीहरू ठूलो समस्यामा परेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। यसका कारण दैनिक आवागमन पूर्ण रूपमा प्रभावित बनेको छ।

डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सडक मर्मतको प्रयास भइरहे पनि लगातारको वर्षाले काममा अवरोध पुगेको जानकारी दिनुभयो। उहाँका अनुसार जोगमाई र पुवाखोलामा बेलीब्रिज जडान गर्ने तयारी भए पनि आवश्यक सामग्री र प्राविधिक भारतबाट आउनुपर्ने भएकाले तत्काल मर्मत सम्भव देखिएको छैन।

यातायात अवरुद्ध भएपछि इलाममा मालवाहक सवारीसाधन प्रवेश गर्न नसकेको इलाम उद्योग वाणिज्य सङ्घले जनाएको छ। यसले दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएको छ भने इन्धन, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन सक्ने जोखिम बढेको छ।

मेची क्षेत्रको मुख्य जीवनरेखा मानिने मेची राजमार्गको राजदुवाली खण्ड विगत तीन वर्षदेखि प्रत्येक बर्खायाममा उच्च पहिरो जोखिममा पर्दै आएको छ। पुवाखोला र कोल्बुङ क्षेत्रमा समेत पहिरोको जोखिम कायम रहेकाले थप वर्षा भए अवस्था अझ जटिल बन्न सक्ने स्थानीयवासीले बताएका छन्। प्रशासनले अत्यावश्यक बाहेक यात्रा नगर्न तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.