भर्खरै : Sorry, your browser does not support inline SVG.
ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह | बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था |

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

मुख्य बुँदा

इलामका किसान प्रविण इङनामले ड्रागन फ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी।

दुई बिघा क्षेत्रफलमा २ हजार ८ सय बिरुवा रोपेर व्यावसायिक खेती।

पाँच जनालाई रोजगारी, बजारको कुनै समस्या छैन।

चुलाचुली गाउँपालिकासहित इलामका विभिन्न क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार।

किसानलाई प्रोत्साहन गर्न स्थानीय तह र कृषि ज्ञान केन्द्रबाट अनुदान।

इलाम, २९ असार । इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उहाँ ड्रागनको रेखदेख गर्न लागिपर्नुहुन्छ ।

सात वर्षअघि स्थापना गरिएको ‘भिलेज एग्रो फार्म’ आज जिल्लामै धैरै ड्रागन फ्रुट उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मका रूपमा परिचित छ । उहाँले यो खेतीबाट वार्षिक १२ लाखबराबरको आम्दानी गर्नुभएको छ ।

दुई बिघामा लगाइएका दुई हजार ८ सय बिरुवाबाट उत्पादन भएको फल बिक्री गरेर प्रसन्न देखिनुभएका इङनामले भन्नुभयो, ‘यस वर्ष उत्पादन बढ्ने भएकाले आम्दानीसमेत बढ्ने अपेक्षा छ ।’

उहाँले आफ्नै जमिन र ३८ कट्ठा लिजमा लिएर मलेसियन प्रजातिको रातो ड्रागन फ्रुट रोप्नुभएको छ । सुरुमा तीन कट्ठा जमिनमा ड्रागन खेती सुरु गर्नुभएका इङनामले कम लगानीमा धेरै आम्दानी हुन थालेपछि खेती विस्तार गर्नुभएको हो ।

पहिले परीक्षणका लागि तीन कट्ठा जमिनमा ड्रागन फ्रुट रोपेको थिएँ । उत्पादन राम्रो भएपछि क्रमशः बढाउँदै लागेको छु’, उहाँले भन्नुभयो, ‘अहिले दुई बिघामा खेती विस्तार गरेको छु । आउने वर्ष थप विस्तार गर्ने योजनामा छु ।’

उहाँले उत्पादन गर्नुभएको ड्रागन फ्रुटको बजारको कुनै समस्या छैन । व्यवसायी बगानमा नै आएर खरिद गरी लैजाने गरेका छन् । उहाँले उत्पादन गर्नुभएको फ्रुट झापाको विर्तामोड, दमक, मोरङको उर्लाबारी र इलाम बजारमा बिक्री हुने गरेको छ ।

उहाँका अनुसार ड्रागन फ्रुट साइजअनुसार प्रतिकिलो २०० देखि ५०० रुपैयाँसम्म बगानबाटै बिक्री हुने गर्दछ । ‘उत्पादन गरेको फल बिक्दैन कि भन्ने चिन्ता छैन, व्यापारी बगानमा नै आउँछन्, उहाँले भन्नुभयो, ‘बगानबाट साइजअनुसार प्रतिकिलो २०० देखि ५०० रुपैयाँ सम्ममा बिक्री हुने गर्दछ ।’

उहाँको फार्मबाट आफू त स्वरोजगार बन्नुभएकै छ, स्थानीयले समेत रोजगारी पाएका छन् । ‘बगानमा म आफैँ खट्ने गरेको छु, त्यसबाहेक पाँच जना श्रमिकलाई रोजगारी दिएको छु, उहाँले भन्नुभयो, ‘आफू स्वरोजगार भई अरुलाई समेत रोजगारी दिन पाउँदा आत्मसन्तुष्टि मिल्दोरहेछ ।’

पैसा कमाउन विदेश नै गइराख्नु पर्दैन भन्ने सन्देश दिन आफूले गाउँमै बसेर कृषि व्यवसाय सुरु गरेको उहाँ बताउनुहुन्छ । ‘बेरोजगार युवा विदेशिने क्रम रोक्न र गाउँघरमा नै बसेर भए पनि स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन व्यावसायिक रूपमा खेती सुरु गरेको हुँ ’ इङनाम भन्नुहुन्छ, ‘निरन्तरता दिँदै नयाँ ढङ्गबाट काम गर्ने हो भने गाउँघरमा नै मज्जाले कमाइ गर्न सकिन्छ ।’

कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले व्यावसायिक खेतीमा जोड दिएको उहाँको भनाइ छ । अन्नबालीमा मात्र सीमित रहने यस क्षेत्रका किसानका लागि इङनामको यो व्यावसायिक ड्रागन फ्रुट खेती एउटा अनुकरणीय र प्रेरणाको स्रोत बनेको छ । कम मिहिनेत र राम्रो बजार भाउ पाउने भएपछि स्थानीयस्तरमा यस खेतीतर्फ अन्य किसानको पनि आकर्षण बढ्न थालेको छ ।

चुलाचुली गाउँपालिका–२ बुढीझोडाकी मायतीमाया लिम्बूले पनि व्यावसायिक ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ । छ वर्षअघि ‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ दर्ता गरी खेती गर्न थाल्नुभएकी उहाँले अहिले आठ कट्ठा जमिन लिजमा लिएर ६५० बोट ड्रागन फ्रुट रोप्नुभएको छ ।

रोपेका सबै बोटले उत्पादन दिन थालेका छन् । लगानी धेरै नचाहिने र उत्पादनसमेत राम्रो हुने भएकाले आठ कट्ठा जमिनमा ड्रागन फ्रुट खेती गर्दै आएको उहाँले सुनाउनुुभयो । अन्य अन्नबालीभन्दा मिहिनेत कम र आम्दानी धेरै हुने भएकाले यसलाई विस्तार गर्ने योजनामा रहेको उहाँले सुनाउनुभयो ।

उहाँले सबै खर्च कटाएर वार्षिक एक लाख २५ हजार रुपैयाँ आम्दानी गरेको सुनाउनुभयो । इङनाम र लिम्बूमात्र होइन, पछिल्लो समय जिल्लाका अन्य किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गएको छ । राम्रो आम्दानी हुने भएपछि स्थानीयले परम्परागत खेतीलाई विश्राम दिन थालेका छन् ।

चुलाचुलीमा ड्रागन फ्रुट खेती प्रवर्द्धनमा सरकारको समेत सहयोग हुँदै आएको छ । इङनामको फार्मलाई चुलाचुली गाउँपालिकाले र लिम्बूको फार्मलाई कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ । इङ्नामको ‘भिलेज एग्रो फार्म’लाई ड्रागन फलखेती प्रवर्द्धन गर्न चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा चार लाख रुपैयाँ अनुदान दिएको थियो ।

इङनामले भन्नुभयो, ‘प्राप्त भएको अनुदानले बगान व्यवस्थापन र नयाँ बिरुवा थप गर्न मद्दत मिलेको थियो । आउने दिनमा पनि यस्ता प्रवर्द्धनका कार्यक्रम प्राप्त हुने विश्वास छ ।’

‘छथरे ड्रागन फ्रुट कृषि फार्म’ लाई बगान व्यवस्थापनका लागि त्यही वर्ष कृषि ज्ञान केन्द्र इलामबाट ५० प्रतिशत लागत साझेदारीमा दुई लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध भएको थियो। यो अनुदानले बगान व्यवस्थापनमा सहयोग मिलेको लिम्बूले बताउनुभयो ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाले आफ्ना गतिविधि अगाडि बढाएको बताउनुभयो । ‘हामीले पहिलेदेखि नै कृषि क्षेत्रलाई प्राथमिकता राखेर काम गदै आएका छौँ’, अध्यक्ष केरुङले भन्नुभयो, ‘आउने वर्ष पनि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्नेछौँ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।’

ड्रागन फ्रुट खेती इलामको चुलाचुलीसहित माई नगरपालिका, रोङ गाउँपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको तल्लो क्षेत्रमा विस्तार हुँदै आएको छ ।

पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै गएको एक आकर्षक र पौष्टिक फलका रूपमा ड्रागन फ्रुटलाई लिइन्छ । समथर जमिनमा ड्याङ बनाएर पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिने ड्रागन फ्रुट लोकप्रिय छ । रासस

 


Thali Mobile Pvt.Ltd.