काठमाडौं । बाढीका कारण ध्वस्त भएको मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र, अस्थायी टनेलमार्फत पानी पथान्तरणको अवस्था र हेडवक्र्स स्थानान्तरण गर्नुपर्ने सुझाव आएका बेला प्रतिनिधि सभा अन्तरर्गत संसदीय पूर्वाधार विकास समितिको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ । वर्षातमा काठमाडौँबासीले मेलम्चीको पानी पिउँने अवस्था कम देखिएको समितिले जनाएको छ ।
दैनिक १७ करोड लिटर पानी वितरण गरिरहेको मेलम्ची खानेपानी आयोजनाले बर्षा लाग्नै लाग्दा हेडवक्र्स सार्नुपर्ने प्रस्ताव गरेपछि खानेपानी उपसमितिको टोलीले निरिक्षण गरेको हो । हाल सुरुङमार्फत दैनिक १८ करोड लिटर पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पठाइने गरेकोे आयोजना प्रमुख रत्न लामिछानेले बताउनु भयो । वर्षातमा जोखिम बढ्ने भएकाले नौ सय मिटरमाथि हेडवक्र्स सार्नु पर्ने प्रस्ताव गरेको तर, निर्णय कार्यान्वयन गर्न नसकिएको उहाँको भनाइ छ ।
हेडवक्र्स सारेर पानी पठाउन सक्ने अवस्था अहिले नरहेको, लार्के र याङ्ग्री नदीको पानी आउने सम्भावना पनि नदेखिएकोले यसको विस्तृत अध्यनको खाँचो रहेको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । हेडवक्र्स सार्न हतार गर्नुभन्दा पुरानै हेडवक्र्सलाई पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था रहेकाले थप अध्यनसहितको उपायको खोजी गर्नु उपयुक्त हुने खानेपानी उपसमिति संयोजक उर्मिला माझीले बताउँनुभयो ।
तत्काल हेडवक्र्स सार्न उचित नहुने सुझाव समितिकातर्फबाट दिएको उहाँको भनाइ छ । आयोजनाको काम गर्दा सिएमसी कम्पनीले बक्यौता नतिरेको, स्थानीयको पक्षमा गर्नुपर्ने दायित्व सिएमसी र सरकारबीच कानुनी लडाइँ रहेको भन्दै मेलम्ची आयोजना जिम्मेवारीबाट पन्छिरहेको स्थानीयको गुनासो छ । वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा पानी सोझै सुरुङमा हालेर पथान्त्रण गरिदै आएको आयोजनाले जनाएको छ ।
मर्मतपछि २०८० माघ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरको धारो खोलेर पानी वितरणको उद्घाटन गर्नुभएको थियो । आयोजनामा हालसम्म करिब ३२ अर्ब खर्च भइसकेको छ । पानी निरन्तर पठाउँन साढे ४ अर्ब खर्च लाग्ने आयोजनाको अनुमान छ । मुहानमा गेग्रान थुप्रिएकोले अझै ठूलो बाढीेको जोखिम कायमै रहेको देखिन्छ ।
सरकारले २०८०, ०८१ को बजेट वक्तव्यमा समेत मेलम्ची आयोजनाको मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । यो पटक वर्षामा पानी ल्याउन सकिने अवस्था नदेखिएको समितिका सदस्य कल्पना चौधरी, प्रतिमा गौतम, लालबिर चौधरी, विना लामा, सुशीला श्रेष्ठलगायतको धारणा छ ।
२०७८ असार १ गते आएको बाढीले पानी छान्ने संयन्त्रसहित पक्की हेडवक्र्स पुरेपछि वर्षायाममा सुरुङको मुख बन्द गर्ने र हिउँदमा पानी सोझै सुरुङमा हालेर काठमाडौं ल्याउने गरिएको थियो । २७ किलोमिटर लामो सुरुङमा बाढीले पु¥याउन सक्ने जोखिमलाई हेरेर नै वर्षायाममा पानी ल्याउन नमिल्ने भएको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी स्थायी संरचना बनाउन जरुरी समितिले ठानेको छ ।
