भर्खरै : Sorry, your browser does not support inline SVG.

सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो

सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो

काठमाडौँ, ३२ असार । धनुषाको तिरहुतिया गाछीबाट सुरु गरिएको मिटरब्याज पीडितहरूको पैदल मार्चपास यात्रा बाराको निजगढमा तीन दिनदेखि रोकिएको छ। यात्राको पाँचौँ दिन निजगढ पुगेका पीडितहरू सरकारसँग सहमति हुने आशामा त्यहीँ बसेका छन्।

निजगढ उद्योग वाणिज्य सङ्घको भवनमा बसिरहेका पीडितहरू र सरकारबीच पटक–पटक वार्ता भए पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन। मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय महासचिव मनोज पासवानका अनुसार गृहमन्त्री सुधन गुरुङसँग दुई दिनसम्म छलफल भए पनि सहमति जुट्न सकेन।

बुधबार साँझ करिब ७:४५ बजेदेखि राति ११ बजेसम्म गृहमन्त्रीसँग वार्ता भएको उनले जानकारी दिए।पीडितहरूले सरकारसमक्ष ६ बुँदे माग प्रस्तुत गरेका छन्।

उनीहरूको मुख्य मागमा मिटरब्याजलाई अपराध घोषणा गर्नुपर्ने, मिटरब्याज विशेष ऐन निर्माण गर्नुपर्ने, मिटरब्याज न्यायाधिकरण गठन गर्नुपर्ने, केन्द्रीय कार्यदल गठन, जिल्लास्तरीय कार्यदल र प्रत्येक जिल्लामा सहजीकरण समिति गठन गर्नुपर्ने रहेका छन्।

बिहीबार पनि गृहमन्त्रीसँग वार्ता सुरु हुनासाथ पीडितहरूले नाराबाजी गरेका छन्। गृहमन्त्री गुरुङले मौखिक रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि लिखित सम्झौता गर्न इच्छुक नदेखिएको आरोप लगाउँदै उनीहरूले वार्तास्थलभित्रै विरोध जनाएका हुन्।

मिटरब्याज पीडितहरूले आफ्ना माग लिखित रूपमा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.