भर्खरै : Sorry, your browser does not support inline SVG.

हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र

हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र

काठमाडौँ, ३२ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य कारबाही गर्ने चेतावनी दिइरहेका बेला संयुक्त राज्य अमेरिकाले बुधबार हर्मुज जलघाँटी क्षेत्रमा इरानी सैन्य क्षमतालाई लक्षित गर्दै नयाँ हवाई आक्रमण सुरु गरेको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण १९:०० जीएमटीदेखि सुरु गरिएको हो। हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजको सुरक्षामा जोखिम पुर्‍याउन प्रयोग भइरहेको इरानी सैन्य संरचना र क्षमतामाथि कारबाही केन्द्रित गरिएको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी सेनाले इरानी बन्दरगाहतर्फ अघि बढिरहेको ‘एम/टी बेल्मा’ नामक तेल ट्याङ्करलाई हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाइएको दाबी गरेको छ। अमेरिकी पक्षका अनुसार कुराकाओको झण्डा बोकेको उक्त जहाज इरानी नौसैनिक नाकाबन्दीलाई सहयोग गर्ने प्रयासमा रहेको थियो।

यता, इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बास, रास्क, चाबहार, केशम, बन्दर इमाम खोमेनी तथा बुसेहरलगायत दक्षिणी क्षेत्रमा विस्फोट भएको जनाएका छन्। इरानको एकमात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुसेहर आसपास पनि आक्रमण भएको दाबी गरिएको छ।

करिब एक महिनाअघि अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीपछि प्रत्यक्ष सैन्य भिडन्त केही समय रोकिएको थियो। तर पछिल्लो घटनासँगै दुवै पक्ष पुनः आमनेसामने भएका छन्। इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक फ्लीटलाई लक्षित गरेको जनाएको छ।

त्यसपछि बहराइनमा हवाई साइरन बजाइएको थियो। जोर्डनले इरानबाट प्रहार गरिएका तीन वटा मिसाइल खसालेको जनाएको छ भने इराकको एरबिल क्षेत्रमा अमेरिकी नेतृत्वको गठबन्धनले विस्फोटक पदार्थ बोकेका आठ वटा ड्रोन नष्ट गरेको जानकारी दिएको छ। यद्यपि, घटनामा मानवीय क्षतिको स्वतन्त्र पुष्टि भएको छैन।

राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता महत्वपूर्ण पूर्वाधारलाई पनि निशाना बनाउन सकिने चेतावनी दिएका छन्। यद्यपि, दुवै पक्षबीच मध्यस्थतामार्फत जारी वार्ता औपचारिक रूपमा समाप्त भएको छैन।

इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबफले भने अन्तरिम समझदारीका प्रावधान कार्यान्वयन नभएसम्म त्यसको कुनै अर्थ नरहने प्रतिक्रिया दिएका छन्। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटी पुनः तनावको केन्द्र बनेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ। समुद्री यातायात ट्र्याक गर्ने संस्था केप्लरका अनुसार जलमार्ग हुँदै हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ।

यसैबीच, ओमानको तटनजिक एक नर्वेजियन तेल ट्याङ्करमा विस्फोट भएको तथा कुवेतको एक नौसैनिक जहाजमा ड्रोन आक्रमण हुँदा चालक दलका चार सदस्य घाइते भएको जनाइएको छ।

इरानी सरकारी प्रवक्ताका अनुसार गत सातादेखिका अमेरिकी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अमेरिकी सेनाले भने थप आक्रमण भए इजरायलबाट पनि कडा सैन्य प्रतिक्रिया हुन सक्ने चेतावनी दिएको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.