भर्खरै : Sorry, your browser does not support inline SVG.

मोदी गाउँपालिकामा पहिरो: बेपत्ता दम्पतिमध्ये पुरुषको शव फेला, श्रीमतीको खोजी जारी

मोदी गाउँपालिकामा पहिरो: बेपत्ता दम्पतिमध्ये पुरुषको शव फेला, श्रीमतीको खोजी जारी

पर्वत, ४ साउन । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा आएको पहिरोमा बेपत्ता भएका दम्पतिमध्ये ७६ वर्षीय छविलाल विश्वकर्माको शव फेला परेको छ भने उनकी श्रीमती विष्णुमती बिक अझै बेपत्ता छन्।

शनिबार रातिदेखि निरन्तर भइरहेको भारी वर्षासँगै घरमाथिबाट खसेको पहिरोले घरको एकातर्फको भित्तो भत्किँदा छविलाल र विष्णुमती घरमै पुरिएका थिए। जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक भूमिराज शर्माका अनुसार स्थानीयवासीले बिहानैदेखि उद्धार कार्य सुरु गरेका थिए। आइतबार बिहान करिब सवा ९ बजे छविलालको शव पहिरोस्थलमै फेला परेको हो।

उद्धारका लागि मोदी गाउँपालिकाको डिमुवाबाट प्रहरी टोली परिचालन गरिएको छ। विष्णुमती बिकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। तर अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट थप जनशक्ति परिचालित भए पनि पहिरो प्रभावित गाउँमा पुग्ने सडक अबरुद्ध हुँदा उद्धार कार्यमा थप समस्या देखिएको छ।

उक्त घरमा रहेकी छविलाल दम्पतिकी ३२ वर्षीया बुहारी पवित्रा बिक भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। शनिबार रातिदेखि पर्वतसहित आसपासका क्षेत्रहरूमा भारी वर्षा जारी छ।

खोला तथा नदीहरूको बहाव उच्च बनेको छ, जसले थप जोखिम बढाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा स्थानीय तह र सुरक्षाकर्मीको सहकार्यमा उद्धार तथा राहत कार्य जारी छ।

 


Thali Mobile Pvt.Ltd.