काठमाडाैं, ८ जेठ । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले मनसुनको समयमा हुने सडक दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्न मौसम पूर्वानुमानलाई गम्भीर रूपमा पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित मनसुन लक्षित सचेतना कार्यक्रम तथा सहायता कक्ष उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीले पछिल्लो समय मौसम पूर्वानुमान प्रविधि अत्यन्त विश्वसनीय बनेको बताए । उनले मौसमसम्बन्धी चेतावनीलाई बेवास्ता गर्दा ठूला दुर्घटना निम्तिने खतरा बढ्ने उल्लेख गर्दै यात्रुभन्दा नाफालाई प्राथमिकता दिने प्रवृत्ति त्याग्न यातायात व्यवसायी र चालकलाई आग्रह गरे ।
खराब मौसममा यात्रा रोक्न सुझाव
एआईजी कार्कीले जोखिमयुक्त सडक क्षेत्रमा जबरजस्ती सवारी सञ्चालन नगर्न र खराब मौसममा यात्रा स्थगित गर्न चालक तथा यात्रु दुवैलाई सचेत गराए । उनका अनुसार विगतमा बाढी र पहिरोका कारण सवारीसाधन तथा यात्रु बेपत्ता हुने दुःखद घटना दोहोरिएकाले यस वर्ष थप सतर्कता आवश्यक छ ।
यातायात क्षेत्र सुधारका लागि भएका प्रयासबारे चर्चा गर्दै उनले जथाभाबी पार्किङ नियन्त्रण हुनु सकारात्मक उपलब्धि भएको बताए । साथै बसपार्कभित्र न्यूनतम आवश्यक पूर्वाधार व्यवस्थापन भइसकेकाले ट्राफिक नियम पालनामा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सवारी सुरक्षामा प्रविधिको प्रयोग बढ्दै
यातायात क्षेत्रमा हुने विवाद समाधान तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको एआईजी कार्कीले बताए । उनले हालसम्म ४ सयभन्दा बढी सवारीसाधनमा जीपीएस तथा ड्यासबोर्ड क्यामेरा जडान गरिसकिएको जानकारी दिए । यसले दुर्घटनाको वास्तविक कारण पहिचान गर्न र न्यायिक प्रक्रिया सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
त्यस्तै अनलाइन टिकट प्रणाली र यात्रुको सामान सुरक्षित राख्न सुरु गरिएको ‘लगेज ट्याग’ प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को ध्यानाकर्षण गराएका छन् । मनसुनको समयमा सडक सुरक्षालाई प्रभावकारी बनाउन सरकारी निकाय, यातायात व्यवसायी, चालक तथा यात्रुबीच समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए ।
