भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटमा संचालित शुक्रबारे हाट बजारले एक वर्ष पुरा गरेको छ । रैथाने उत्पादनलाई प्राथमिकता दिन र उत्पादित बस्तुको बजारकरण गर्न स्थानीय सरकारले हाट बजार सञ्चालनमा ल्याएको हो । नगरकोटस्थित महामञ्जुश्री पार्कमा सञ्चालित हाटबजारमा कृषकले आफुले उत्पादन गरेको तरकारी बेचेर ७५ लाख आमदानी गरेका छन् ।
कृषक हामी सबैको साझा जिम्मेवारी, प्राङ्गारिक खेतीलाई बनाऔं प्रभावकारी भन्ने नाराकासाथ अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न सञ्चालनमा ल्याएको शुक्रबारे हाटबजारमा मण्डन देउपुर नगरपालिका, चागुनारायण नगरपालिका र आशपासका क्षेत्रका किसानले मनग्य फाइदा लिएका छन् । आज ३६५ दिन पुरा भएको छ । पर्यटकीय क्षेत्र भएकाले पनि स्थानीय उत्पादन यही हाटबजारमा नै खपत हुँदा किसानहरु उत्साहित मात्रै होइन, मनग्य आमदानी गर्न पाउँदा खुसी भएको बताएका छन् ।
उत्पादित तरकारी हाट–बजारमा ल्याइ बिक्री गरेपछि अर्थतन्त्रमा आत्मनिर्भरता बढेको भन्दै उनीहरुले एक वर्षको अवधिमा तरकारी बिक्रीबाटै जीविका चलेको बताएका हुन । अर्गानिक उत्पादनमा जोेड दिन कृषकलाई अनुदान दिएको मण्डन देउपुर नगरपालिकाका मेयर टोपबहादुर वाइबाले बताए । नगर प्रमुख वाइबाले किसानी पेशालाई अपमानित हुनुपर्ने अवस्थामा त्यसलाई न्यूनीकरण गर्नका लागि गरेको पहलले सार्थक रूप लिएको अभिव्यक्त गरे ।
उनले भने, ‘किसान ठगिएका छन्, बिचौलियाको मारमा परेका छन्, त्यो समस्या समाधान गर्न हाट बजारले सहयोग गरेको छ । बिक्रेताले काठमाडौंकै मूल्यमा नगरकोटमै तरकारी पाएका छन् । यो कामले किसानको सम्मान भएको छ । नगरपालिकाले शीत भण्डार निर्माण गरेको छ ।’ नगरकोटको पर्यटन विकासका साथै व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय सरकार र व्यवसायीहरूले किसानलाई साथ दिएका छन् भने हाट बजार सञ्चालनमा आस्क नेपालले सहयोग गरेको छ ।
किसानलाई थप टेवा पुगोस भनेर वडा कार्यालयले निःशुल्क स्टल व्यवस्थापन गरेको चागुनारायण नगरपालिका वडा नं.६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए । अध्यक्ष लामाले किसानलाई उत्प्रेरित गर्नका लागि हाट बजार सञ्चालन गरिएको धारणा राखे । यस कार्यले नगरकोट भ्रमण वर्ष २०८२ लाई समेत टेवा पुग्ने जिकिर गरे । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले अर्गानिक तरकारी र अन्न उत्पादन गर्ने किसानले उचित मूल्य पाउँन नसकेको र उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यता यस हाटबजारबाट हटेको बताए ।
किसानलाई आर्थिक रूपमा आत्मनिर्भर गर्न जरुरी रहेको भन्दै नेपालले हाट बजारको प्रशंसा गरे । नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनमार्फत पनि किसानलाई सहयोग पुग्ने बताए । यस्तै आस्क नेपालले किसानको जीवनस्तर उकास्न सहयोग गरेको मण्डन देउपुर पिसिएफ समितिका प्रेमप्रसाद तिमल्सिनाले बताए । हाट बजार सुरू भएपछि किसानको बजारको समस्या हल भएको उनको जिकिर छ ।
तरकारी किनेर खाने किसान समेत अहिले तरकारी उत्पादनबाट आत्मनिर्भरता बढेको बताए । यस्तै आस्क नेपाल काभ्रेका शाखा प्रमुख बद्री माकले किसान, व्यवसायीको जीवनमा परिवर्तन आएको बताए । सबैको साथले हाट बजार निरन्तर चल्नु पर्ने र किसानका लागि सबैले सोच्नु पर्ने बेला आएको बताए । हाट बजारलाई थप व्यवस्थित गर्दै लैजानु पर्ने भन्दै व्यावसायिक खेतीलाई प्राथमिकता दिन संघ सस्थाले ध्यान दिदै योजना बनाउनु पर्ने बताए ।
कार्यक्रममा किसानले उचित मूल्य पाउन नसकेको र उपभोक्ताले महङ्गोमा किन्नुपर्ने बाध्यताको हाटबजारले अन्तय गरिदिएको सरोकारवालाको भनाइ छ । हाटबजार बजारले वर्षदिन पार गरेको अवसरमा उत्कृष्ट कृषक, बिक्रेता र खरिदकर्तालाई आयोजकले नगद तथा प्रमाण पत्रले सम्मान गरको छ । प्राङ्गारिक खेती गरि उत्कृष्ट भएका किसानलाई अनुदान तथा बजार प्रवद्र्धनमा सहयोग गरेकोमा होटल व्यवसायीलाई सम्मान गरेको हो ।
उनीहरूलाई मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामा र आस्क नेपालका प्रतिनिधिहरुले कदरपत्रका साथ सम्मान गरेका हुन । मण्डनदेउपुर नगरपालिका , चाँगुनारायण नगरपालिका वडा नं. ६ र आपसी सहयोग केन्द्र (आस्क नेपाल) को संयुक्त आयोजना महामञ्जुश्री पार्कमा गत वर्ष २०८० साउन १९ गतेबाट हाट बजार संचालनमा आएको हो ।
मण्डनदेउपुर पिसिएस प्रमाणिकरण कृषक समूहले हाटबजारलाई सहयोग गरेको थियो । प्रत्यक शुक्रबार करिब ३ घण्टा चल्दै आएको छ । सम्मानित हुनेमा होटल चौतारी, होटल ग्रिन भ्याली, होटल हिमालयन ग्लासियर, होटल भ्यू प्वाइन्ट, जिम्बु थकाली भान्सा घर, भिलेज भ्यू नगरकोट, माउन्ट एभरेष्ट, होटल मेरिगोल्ड, द फोर्ट रिसोर्ट, होटल सनसाइन र क्लब हिमालयन रहेका छन् । नगरकोट हाट बजारले ग्रामीण क्षेत्रको उत्पादन र उत्पादकत्वमा टेवा पुगेको विश्वास आस्क नेपालका अध्यक्ष रूकुमदत्त शर्मा पौडेल कार्यक्रम प्रमुख प्रल्हाद तिमल्सिनाको छ ।


