भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

वर्षायाममा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको कडा निर्देशन, प्रदेश कार्यालय २४सै घण्टा तयारी अवस्थामा रहने

वर्षायाममा विद्युत् अवरोध हुन नदिन प्राधिकरणको कडा निर्देशन, प्रदेश कार्यालय २४सै घण्टा तयारी अवस्थामा रहने

काठमाडौं, ५ साउन । वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणले प्रदेश कार्यालयहरूलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएको छ।

सम्भावित प्राकृतिक विपद्का कारण विद्युत् सेवा प्रभावित हुन नदिन आवश्यक जनशक्ति, उपकरण र मर्मत सामग्री चौबीसै घण्टा तयारी अवस्थामा राख्न पनि प्राधिकरणले निर्देशन दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा वितरण तथा ग्राहक सेवा निर्देशनालय, सातवटै प्रदेश कार्यालय तथा दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरूको उच्चस्तरीय समीक्षा तथा निर्देशन बैठक सम्पन्न भएको थियो।

बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहका चुनौती, ग्राहक गुनासो व्यवस्थापन तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो।

समीक्षापछि कार्यकारी निर्देशक श्रेष्ठले कुनै पनि अवस्थामा नियमित र गुणस्तरीय विद्युत् आपूर्तिमा अवरोध आउन नदिन उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिए। उनले सम्भावित विद्युत् अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति, उपकरण तथा मर्मत सामग्री तयारी अवस्थामा राखी समस्या देखिनेबित्तिकै तत्काल परिचालन गर्नुपर्नेमा जोड दिए।

उनले सेवाग्राहीका गुनासोको छिटो, सहज र प्रभावकारी रूपमा सुनुवाइ तथा समाधान गर्न, योजनाबद्ध लाइन अवरोध वा आकस्मिक मर्मतका कारण विद्युत् आपूर्ति प्रभावित हुने अवस्थामा सकेसम्म पूर्वसूचना उपलब्ध गराउन तथा सेवा प्रवाहलाई पारदर्शी र उत्तरदायी बनाउन निर्देशन दिए।

बाढी, पहिरो, हुरीबतासलगायत प्राकृतिक विपद्का कारण विद्युत् पूर्वाधारमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै प्रदेश कार्यालयहरूलाई आवश्यक जनशक्ति, उपकरण र सामग्री चौबीसै घण्टा तयारी अवस्थामा राख्न तथा सञ्चालनमा रहेका आयोजना र वितरण प्रणालीको नियमित अनुगमन गरी समस्या देखिए तत्काल समाधान गर्न पनि उनले आग्रह गरे।

कार्यकारी निर्देशक श्रेष्ठले कर्मचारीहरूको क्षमता अभिवृद्धि, सीप विकास तथा वृत्ति विकासका लागि आवश्यक प्राविधिक र व्यवस्थापकीय तालिमको आवश्यकता पहिचान गरी प्रस्ताव पेस गर्न पनि निर्देशन दिएका छन्।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गरिने र सेवाप्रवाहमा लापरबाही गर्ने कर्मचारीमाथि प्रचलित नियमअनुसार कारबाही गरिने स्पष्ट पारे।

उनले परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृति र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रदेश कार्यालयहरूलाई आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.