काठमाडौं, २१ भदौ । भोटेकोशी बाढीपछि सिर्जित विपद्सँग जुध्दै नेपाल प्रहरीले सीमित साधनस्रोतका बाबजुद खोज तथा उद्धार, राहत व्यवस्थापन, सुरक्षा र नागरिकको दैनिकी सहज बनाउन अहोरात्र काम गरिरहेको छ ।
रसुवास्थित नेपाल–चीन सीमाबाट बाढी प्रवेश गरेलगत्तै प्रहरीले सूचना सङ्कलन तथा विश्लेषण, आवश्यक रणनीति निर्माण, उपलब्ध जनशक्ति र प्रविधिको परिचालनलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रसम्म आफ्नो संयन्त्र परिचालन गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी विपद् व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी परिचालन भएका छन् । प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट ६ हजार ८५३ जनाको उद्धार गरिएको छ भने ५ हजार १५ जना अझै बेपत्ता छन् ।
बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको खोज तथा उद्धारका लागि प्रहरीले विशेष टोली परिचालन गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको छ ।
सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि परिवारजनबाट केन्द्रमा आउने सूचनाका आधारमा सम्बन्धित प्रहरी युनिटलाई जानकारी गराएर खोजी कार्य अघि बढाइएको छ । हालसम्म केन्द्रमा आफन्तको खोज तथा उद्धारका लागि १ हजार ३५१ पटक अनुरोध प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर तथा जटिल भौतिक संरचनामा ड्रोन क्यामेराको प्रयोग गरी खोजी भइरहेको छ । केही दिनअघि ड्रोन क्यामेराको सहयोगमा नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ ।
विदेशी नागरिकको खोज तथा उद्धारमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याइएको छ । त्यहाँ विभिन्न देशका दूतावास, कूटनीतिक नियोग तथा विदेशी संस्थासँग मृतक र बेपत्ता विदेशी नागरिकसम्बन्धी सूचना आदानप्रदान भइरहेको छ ।
खोज तथा उद्धारसँगै पहिचान हुन नसकेका शव तथा मानव अङ्गको व्यवस्थापन पनि वैज्ञानिक विधिबाट भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता काफ्लेका अनुसार प्रभावित क्षेत्रमा सङ्कलित शवको सङ्ख्या बढ्दै जाँदा सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेकाले फोरेन्सिक विशेषज्ञको सहयोगमा शव व्यवस्थापन भइरहेको छ ।
बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा मानव अङ्गको पहिचान गर्न सक्ने गरी महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा ‘डीएनए प्रोफाइलिङ’को काम भइरहेको छ ।
विपद्को मौका छोपी हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र गस्ती बढाएको छ ।विस्थापित नागरिकका खाली घरमा चोरी तथा लुटपाट हुन नदिन प्रहरी परिचालन गरिएको छ । त्यस्तै, विपद्को नाममा हुनसक्ने ठगी, राहत सङ्कलनका नाममा हुने गैरकानुनी गतिविधि तथा अन्य अपराधमाथि समेत प्रहरीले निगरानी गरिरहेको जनाएको छ ।
सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह र भ्रामक सामग्रीप्रति पनि निगरानी बढाइएको प्रहरीको भनाइ छ । विपद्को समयमा गलत सूचना फैलाएर नागरिकमा भ्रम सिर्जना गर्ने वा राहत तथा उद्धारमा अवरोध पुर्याउनेलाई कानुनी दायरामा ल्याइने प्रहरीले चेतावनी दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा घाइते भएका नागरिकको उपचारमा पनि नेपाल प्रहरी सक्रिय छ । नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सक टोलीले सुरुआती दिनदेखि नै घाइतेको स्वास्थ्य उपचार गर्दै आएको छ ।विपद्का कारण उत्पन्न मानसिक तनाव कम गर्न तथा घाइतेलाई सामान्य अवस्थामा फर्काउन प्रहरी अस्पतालको विशेषज्ञ टोलीले आवश्यक मनोपरामर्शसमेत प्रदान गरिरहेको छ ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा ४१ हजार २५७ जना सहभागी भएका छन् ।
रसुवा, नुवाकोट र धादिङका होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाविरुद्ध हुनसक्ने दुर्व्यवहार तथा हिंसा रोक्न महिला प्रहरी परिचालन गरिएको छ । महिला तथा बालबालिकासँग सम्बन्धित समस्या र गुनासो सम्बोधन गर्नुका साथै आवश्यक मनोपरामर्शसमेत प्रदान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्थानीय तह र अन्य सुरक्षा निकायसँग समन्वय गरी बाढी प्रभावित नागरिकको दैनिकी सहज बनाउन पनि काम गरिरहेको छ । बाढीका कारण हिलाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घरमा सरसफाइ र मर्मतसम्भारका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
त्यस्तै, बाढीका कारण अवरुद्ध भएका सडकको अवस्थाबारे समयमै सूचना प्रवाह गर्ने र वैकल्पिक मार्गको जानकारी गराएर यात्रुलाई सहजीकरण गर्ने कामसमेत भइरहेको प्रवक्ता काफ्लेले बताएका छन् ।
भोटेकोशी बाढीले नेपाल प्रहरी संगठनलाई पनि भौतिक तथा मानवीय क्षति पुर्याएको छ । बाढीको सूचना प्राप्त भएलगत्तै नागरिकको जीउधनको सुरक्षामा खटिएका नेपाल प्रहरीका २५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।
तर आफ्नै क्षतिको पीडा भुलेर प्रहरी जनशक्ति प्रभावित नागरिकको उद्धार, खोजी, राहत र सुरक्षामा निरन्तर खटिरहेको छ । प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता काफ्लेले प्रभावित क्षेत्रमा थुप्रिएको हिलो, माटो र ढुङ्गासँगै पुनः बाढीको जोखिमबीच पनि प्रहरी जनशक्ति नागरिकको दैनिकी सहज बनाउन अहोरात्र खटिरहेको बताएका छन् ।
खोज तथा उद्धार, सम्पर्कविहीनको खोजी, शव व्यवस्थापन, राहत वितरण, आपराधिक गतिविधि नियन्त्रण तथा विस्थापित नागरिकको जीउधनको सुरक्षालगायतका बहुआयामिक चुनौतीबीच नेपाल प्रहरीले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहेको छ ।
