भर्खरै : Sorry, your browser does not support inline SVG.

ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो

ग्यास अभाव चर्किएपछि तराईका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालियो

काठमाडौं, २० भदौ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा खाना पकाउने ग्यासको अभाव भएपछि तराईका ग्यास उद्योगबाट सिलिन्डर भरेर काठमाडौं ल्याउन थालिएको छ ।

मध्यपूर्वमा तनाव बढेसँगै देखिएको ग्यास अभाव भोटेकोशीमा आएको बाढी तथा त्यसपछि सडक सञ्जालमा आएको अवरोधका कारण थप चर्किएको हो । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा ग्यास ढुवानी प्रभावित हुँदा उपभोक्ताले थप समस्या भोग्नुपरेको छ ।

ग्यास अभावलाई केही हदसम्म कम गर्न नेपाल आयल निगम र ग्यास उद्योगीबीच भएको छलफलपछि उपत्यका बाहिरका उद्योगबाटै सिलिन्डरमा ग्यास भरेर काठमाडौं ल्याउने व्यवस्था गरिएको हो । नेपाल एलपी ग्यास उद्योग सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार काठमाडौं बाहिरका उद्योगमा पर्याप्त खाली सिलिन्डर छैनन् ।

त्यसैले काठमाडौंमा खाली भएका सिलिन्डरलाई ट्रकमार्फत तराईका उद्योगसम्म पुर्‍याएर त्यहाँ ग्यास भरेपछि पुनः काठमाडौं ल्याउन थालिएको छ । हाल तराईका १५ वटा ग्यास उद्योगमा २६ वटा ब्रान्डका सिलिन्डरमा ग्यास भर्ने काम भइरहेको छ । शुक्रबार मात्रै तराईका उद्योगबाट ३० हजार सिलिन्डर ग्यास काठमाडौं भित्रिएको सङ्घले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्छ । तर पछिल्लो समय ग्यासको अभाव रहेकाले दैनिक खपत एक लाख सिलिन्डरसम्म पुग्ने अवस्था रहेको उहाँको भनाइ छ ।

उद्योग र ढुवानीको व्यवस्थापनलाई संगठित रूपमा अघि बढाइएको भन्दै अध्यक्ष चन्दले केही दिनमै ग्यासको समस्या समाधान हुने दाबी गर्नुभएको छ । उहाँले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै सिलिन्डर साट्न र अभावको समयमा अनावश्यक रूपमा ग्यास मौज्दात नगर्न आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार एउटा ग्यास बोक्ने बुलेटमा करिब ४५० सिलिन्डर ग्यास आउँछ । ठूलो ट्रकले भरिएका करिब ५०० सिलिन्डर तथा खाली अवस्थामा करिब ६०० सिलिन्डरसम्म बोक्न सक्छ ।

यसअघि खाडी क्षेत्रमा देखिएको संकट, पृथ्वी राजमार्ग अवरुद्धलगायतका कारण देखाउँदै निजी क्षेत्रका ग्यास कम्पनीले आपूर्ति व्यवस्थापन गर्न नसक्दा उपभोक्ताले सास्ती खेप्नुपरेको थियो । अहिले वैकल्पिक ढुवानी व्यवस्थामार्फत ग्यास आपूर्ति बढाउन थालिएसँगै अभाव केही कम हुने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.